मंगलबार, मंसिर ११ गते २०८१

सांसद शाही प्रकरण : जनमोर्चा सांसद अझै विभाजित

सांसद शाही प्रकरण : जनमोर्चा सांसद अझै विभाजित

अखबार दैनिक
आइतबार, वैशाख १९ २०७८
  • सांसद  शाही प्रकरण : जनमोर्चा सांसद अझै विभाजित

    गण्डकीका जनमोर्चा सांसद खिमविक्रम शाहीको स्वास्थ्य सुधार हुँदै आएको संसदीय दलका नेता कृष्ण थापाले बताएका छन् । पोखरा स्थित चरक अस्पतालमा उपचाररत शाहीलाई शनिबार भेटेर उनले स्वास्थ्य स्थिति बुझेका थिए । शाहीको तस्वीर सार्वजनिक गर्दै उनले स्वास्थ्य लाभको कामना गरेकाछन् ।
    प्रदेश सभामा अविश्वास प्रस्तावमा मतदान गर्ने दिन बैशाख १५ गते अस्वभाविक रुपमा सांसद शाही ‘बेपत्ता’ भएका थिए । त्यसपछि फोनमा कुरा गरेपनि शाहीलाई शनिबार मात्र भेट्न पाएको थापाले बताए । ‘उहाँलाई छाती दुख्ने, रिंगटा लाग्ने भएको रहेछ, आज बुझ्दा सुधार आइरहेको भन्नुभएको छ,’ थापाले भने, ‘कोरोना ठिक भएपछि डिस्चार्ज हुनुहुन्छ ।’
    सांसद शाहीको कोरोना संक्रमणका विषय पनि शंकास्पद रहेको थियो । बैशाख १४ गते एकै दिन लिएको २ वटा स्वाब परीक्षण गर्दा सरकारी ल्याबबाट नेगेटिभ रिपोर्ट आएको थियो भने निजी ल्याबबाट पोजेटिभ रिपोर्ट आएको थियो । चरक अस्पतालमा लगेपछि फेरि उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
    कोरोना परिक्षण गर्न शंकास्पद भएपछि प्रतिपक्षी दलहरुले सरकार टिकाउन कोरोनालाई हतियार बनाएको आरोप लगाएका थिए । उनीहरुले विज्ञप्तिमार्फत प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले उक्त स्वाबको तथ्य जाँच गर्न र प्रयोगशालाको विश्वसनीयता परीक्षण गर्नसमेत माग गरेको थियो ।
    विपक्षीको मागअनुसार सरकारले शाहीको स्वाबको तथ्य जाँच भने गरेन । अझै आइसियुमै रहेका सांसद शाही अनुपस्थित भएपछि प्रदेश सभाको विशेष अधिवेशन नै अनिश्चित बनेको छ । उनी ठीक भएको सूचना आएपछि संसद सुचारु चलाउन प्रक्रिया अघि बढ्ने सभामुख नेत्रनाथ अधिकारीले बताएका छन् ।
    अविश्वास प्रस्तावमा मतदान गर्ने दिन बेपत्ता भएका सांसद शाहीको स्थिति सार्वजनिक गर्न र जीवनरक्षा गर्न जनमोर्चाका सचेतक पियारी थापाले संसद सचिवालयमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा सभामुख अधिकारीले प्रदेश सभा बैठक मतदान अघि नै अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए ।
    सांसद शाही नाटकीय रुपमा बेपत्ता भएको भन्दै अविश्वास प्रस्ताव ल्याउने विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले जनमोर्चाको भूमिकाप्रति शंका जनाएका थिए । ‘त्यो घटनापछि हामीले जनमोर्चाका केन्द्रीय नेतृत्वसँग प्रश्न ग¥यौं,’ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले ढोरपाटनलाई भने, ‘केन्द्रीय नेतृत्वले अविश्वास प्रस्तावमै मतदान गछौं भनेर वचन दिनुभएको छ, हामीले विश्वास गरेका छौं ।’
    सांसद शाहीको बेपत्ता प्रकरणलाई हेर्ने दृष्टिकोणमा पार्टीका सांसदहरु नै विभाजित छन् । सांसद पियारी थापा छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने बताउँछिन् भने अर्का सांसद कृष्ण थापा पार्टीले कुनै छानविन नगर्ने बताउँछन् । सांसद पियारीले शाही प्रकरणमा पार्टीले छानविन गरिरहेको र सत्तारुढ दलसँग साँठगाँठ भएको प्रमाणित भए कारबाही प्रक्रिया अघि बढ्ने बताइन् ।
    ‘पार्टीको निर्णय र निर्देशन अनुसार हामी चल्ने हो, पार्टी निर्णय विपरित जाने जसलाई पनि कारबाही हुन सक्छ,’ पियारीले भनिन्, ‘व्यक्तिगत इच्छा र चाहनाले हुँदैन, हाम्रो पार्टी जनवादी केन्द्रीयतामा चल्छ ।’ उनले सांसद शाही स्वास्थ्य भएपछि संसद सचिवालयलाई जानकारी गराउने बताइन् ।
    यता, जनमोर्चाकै अर्का सांसद एवं संसदीय दलका नेता कृष्ण थापाले भने पार्टीबाट कुनै छानविन नहुने दाबी गरे । ‘मैले हिजोमात्रै पार्टी महासचिव मनोज भट्टसँग कुरा गरेको थिएँ, कुनै छानविन समिति बनेको छैन,’ उनले भने, ‘बिरामी भएपछि कस्को के लाग्यो र ?’
    अर्का सांसद पियारी थापाले भने उक्त घटना रहस्यमय रहेको भन्दै पार्टीले छानविन गरेर वास्तविकता बाहिर ल्याउने दाबी दोहो¥याइन् । मतदान गर्नेबेला एकाएक सांसद सम्पर्कविहीन हुँदा सत्तारुढ दलकै संलग्नता भएको आशंका जन्मेको दाबी गरिन् ।
    सत्तारुढ दलले नै सानातिना विषयमा संसद अवरोध गर्ने गरेको भन्दै उनले जनमोर्चाका सांसद बेपत्ता हुँदा सदन रोक्न आवश्यक नै रहेको बताइन् । ‘हाम्रा सांसद अस्पताल हुनुहुन्छ भन्ने थाहा भएको भए सदन चल्न सक्थ्यो तर त्यस्तो भएन,’ उनले भनिन्, ‘सरकारले नै त्यस्ता गतिविधि गरेको रहेछ भने हामी त्यसको भण्डाफोर गर्छौं ।’
    जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाही अहिलेकै पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाएर जाने पक्षमा थिए । तर, पार्टीले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएपछि उनीहरुले उक्त निर्देशन मान्ने बताउँदै आएका छन् । सांसद शाहीले अस्पतालबाट विज्ञप्ति निकालेर पार्टीको निर्देशन मान्ने बताइसकेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार