मंगलबार, मंसिर ११ गते २०८१

एमालेले माग्यो सभामुख अधिकारीको राजीनामा

एमालेले माग्यो सभामुख अधिकारीको राजीनामा

अखबार दैनिक
बिहीबार , वैशाख १६ २०७८
  • एमालेले माग्यो सभामुख अधिकारीको राजीनामा

    गण्डकी प्रदेश सभाको विशेष अधिवेशन स्थगित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन ।

    images

    सभामुख अधिकारी नै बैठकमा उपस्थित नभएपछि छलफल हुनै नपाएको एमालेका सांसद कृष्ण थापाले मेन समाचारलाई जानकारी दिए ।
    कार्यसूचि अनुसार आज सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने थियो ।

    तर निर्णायक मानिएको जनमोर्चाका एक सांसद खिमविक्रम शाही उपचारको क्रममा चरक अस्पतालमा भर्ना भएपछि दलकी सचेतक सांसद पियारी थापाले सभाको कारवाही स्थगन गर्न माग गरिन् ।

    उनले सचिवालयमा निवेदन दिँदै सांसद शाहीको अवस्था अज्ञात रहेको र संसदको कारवाही स्थगन गर्नुपर्ने माग राखेकी थिइन् ।

    सचिवालयलेसमेत सांसद थापाको निवेदनको व्यहोरा उल्लेख गर्दै अनिश्चितकालका लागि सभाको विशेष अधिवेशन स्थगित गरेको सूचना जारी गरेको छ ।

    तर एमालेले भने एउटा दलको एक जना सांसद उपस्थित नहुँदा कार्यसूचि नै अवरुद्ध गर्नाले सभामुखको चरित्र प्रस्ट भएको आरोप लगाएको छ ।

    कार्य व्यवस्थामा बसेर कार्यविधि तय भइसकेपछि बिना सूचना सभामुखले अनिश्चितकालका लागि टाँस गरेर संसद स्थगित असंवैधानिक, अलोकतान्त्रिक भएको एमालेका सांसद धनञ्जय दवाडीले मेन समाचारलाई बताए । ‘यसकारण उहाँ सभामुखका लागि सुहाउँदो हुनुभएन,’ उनले भने, ‘उहाँले राजीनामा दिनुपर्छ ।’

    सभामुखले बोलाएको बैठक निरन्तर राख्नुपर्नेमा विधिमै नभएको, अभ्यासै नभएको काम गरेको सांसद दवाडीको भनाई छ ।

    नेपालमै नयाँ घटना सभामुखले घटाएको एमाले सांसद कृष्ण थापाले बताए । ‘सभामुखले इतिहासमै पहिलोपटक संसदमा कार्यसूचि दिइसकेपछि यो कार्यसूचिको बारेमा छलफलै नभइकन मनोखुसी सभा स्थगित गराउने नयाँ इतिहास रच्नुभएको छ,’ उनले भने ।

    कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सूचि तयार गर्ने गरिने गरेकोमा त्यसलाई बेवास्ता गरेको उनको भनाई छ । ‘उहाँले एउटा दलको कार्यकर्ताको भूमिका निर्वाह गर्नुभयो । आजको मितिबाट नैतिक रुपमा सभामुख बन्न लायक हुनुहुन्न ।’

    समितिको बैठक बोलाइसकेपछि आफूहरुको अर्को कक्षमा दलको बैठकमा बसिरहेको र सकेर जाँदा सभामुख नभएको सांसद थापाले जानकारी दिए । ‘उहाँलाई हाम्रो दलको नेताले खोजीरहनु भएको होला ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार