कुश्मा–बलेवा यान्त्रिक पुल, नेपालकै लामा र अग्ला झोलुंगे पुल, बन्जीजम्प, विश्वकै अग्लो स्विङ, क्यानोनिङलगायत साहसिक गतिविधि बढ्दो
पर्वत/कोभिड–१९ को त्रास बढ्दै जाँदा पर्वतमा भने केही युवा पर्यटन व्यवसायीहरू भने साहसिक पर्यटनको पूर्वाधार निर्माणमा व्यस्त थिए । यसै समयमा पर्वतको कुश्मा र बाग्लुङको बलेवालाई जोड्ने गरी कालीगण्डकी नदीमाथि विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालनमा आयो । २ सय २८ मिटर अग्लो बन्जी सञ्चालनमा आउनेबित्तिकै कोभिड–१९ को त्रास पनि केही घट्न थाल्यो । फलस्वरूप पर्वतमा साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थाल्यो । विगतमा अग्ला पुलहरू हेर्न आउने पर्यटक अहिले बन्जीजम्प गर्न भनेर आइरहेका छन् ।
द क्लिफ प्रालिले बन्जीसँगै स्काई साइक्लिङ पनि सुरु गर्दै छ । कम्पनीले सञ्चालन गरेको गुलेली पिङले पर्यटकलाई राम्रै आकर्षित गर्यो । यस्तै, कुश्माको चाक्ले डिलमा जिपलाइन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । हार्नेस जिपलाइन प्रालिले कालीगण्डकी गल्छीमै ४० मिटर लामो सिसैसिसाको स्काई ब्रिज बनाइरहेको छ । पर्वतमै व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनका लागि ठाउँ–ठाउँमा परीक्षण भइरहेका छन् । मुलुककै चर्चित र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा कहलिएको पोखराको साहसिक पर्यटन बिस्तारै पर्वततिर फैलिन थालेको कुश्मा नगरपालिकाका प्रमुख
रामचन्द्र जोशी बताउँछन् । मुलुककै चौथो सानो जिल्लाका रूपमा परिचित पर्वतले साहसिक पर्यटनको गन्तव्यका रूपमा आफ्नो पहिचान बनाउँदै छ । पछिल्लो ५ वर्षयता पर्वत जिल्ला मुलुककै उत्कृष्ट साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताउँछन् । पोखराबाट नजिकै रहेको पर्वतमा फराकिलो सडक निर्माण भइरहेको छ । पोखराबाट बाग्लुङ, म्याग्दी हुँदै मुक्तिनाथसम्म पुग्ने सडक चौडा र पक्की हुनेबित्तिकै यस क्षेत्रमा पर्यटक आगमन अझै बढ्ने स्थानीय व्यवसायीहरू बताउँछन् ।
पोखराबाट कुश्मासम्म ६० किलोमिटर दूरी पार गर्न करिब डेढ–दुई घन्टा लाग्छ । पर्यटक बिहान कुश्मा आएर साहसिक गतिविधिमा रमाएर साँझपख वास बस्न पोखरा फर्किन पनि भ्याउँछन् । कुश्माको पारिपट्टि बाग्लुङको बलेवा एयरपोर्ट पनि पुुनः सञ्चालन गर्न खोजिएको छ । यो एयरपोर्ट कालोपत्रे गर्ने तयारी भइरहेको छ, जसले गर्दा पर्यटकलाई कुश्मा आउन सहज हुनेछ । त्यसो त पर्यटकीय गतिविधि बढ्न थालेपछि पर्वत–बाग्लुङमै करोडौँ लगानीमा होटेल तथा रिसोर्टहरू खुल्न थालेका छन् । द क्लिफले बन्जी सँगसँगै बलेवा क्षेत्रमा रिसोर्ट पनि सञ्चालनमा ल्याइसकेको छ । यस्तै, कुश्मा बजारमा ७ करोड लगानीमा माउन्टेन भ्यू रिसोर्ट सञ्चालनमा आएको छ ।
कुश्मा–बलेवा यान्त्रिक पुल, नेपालकै लामा र अग्ला झोलुंगे पुल, बन्जीजम्प, विश्वकै अग्लो स्विङ, क्यानोनिङलगायत साहसिक गतिविधिहरूले पर्वतलाई साहसिक पर्यटकको आकर्षक गन्तव्य बनाएको हो । पछिल्लो समय पर्वतको कुश्मा एडभेन्चर गतिविधिका लागि नयाँ गन्तव्यका रूपमा उदाइरहेको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी बताउँछन् । ‘पोखरा घुम्न आउने पर्यटकलाई कुश्माले आकर्षित गर्न थालेको छ, अहिले बन्जीमा आन्तरिक पर्यटकको भिड लागेको देख्न सकिन्छ,’ उनी भन्छन्, ‘पर्यटन बोर्डले पनि पर्वतलाई साहसिक पर्यटनको ‘इमर्जिङ डेस्टिनेसन’का रूपमा हेरिरहेको छ । त्यहाँको साहसिक पर्यटनको विकासमा पर्यटन बोर्डले सहयोग गर्छ ।’
अहिले झन्डै ११ करोडको लगानीमा कालीगण्डकी नदी–किनारमा बन्दै गरेको १४ सय मिटर लामो जिपलाइनले पर्वतको पर्यटनलाई थप उचाइ दिने विश्वास छ । मुस्ताङको मुक्तिनाथ जाने धार्मिक तथा साहसिक पर्यटकको ट्रान्जिट पर्वतकै कुश्मा बन्ने सम्भावना देखिएको मेयर जोशी बताउँछन् । ‘पोखरापछि साहसिक पर्यटनको आकर्षक गन्तव्य बन्नका लागि पर्वतको कुश्मामा पूर्वाधार तयार भइरहेको छ,’ मेयर जोशी भन्छन्, ‘कुश्मालाई पर्यटकीय हबका रूपमा विकास गर्न हामीले निजी क्षेत्रलाई विशेष नीतिगत व्यवस्था नै गरेर प्रोत्साहन दिलाउने योजनामा छौँ ।’
साहसिक गतिविधिहरूको राजधानी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउँदै छ । यो विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ रोक्नुपर्ने प्राविधिकहरूले बताइसकेका छन् । पोखराको सबैभन्दा लोकप्रिय साहसिक मनोरञ्जनात्मक खेल प्याराग्लाइडिङ अन्यत्र सार्नुपर्दा पर्वत पनि उपयुक्त गन्तव्य हुन सक्ने स्थानीय व्यवसायी बताउँछन् । पर्यटन बोर्ड, गण्डकीका प्रमुख भण्डारी पनि प्याराग्लाइडिङ उडानका लागि पर्वतका विभिन्न ठाउँहरूमा परीक्षण भइरहेको बताउँछन् । तर, अहिलेसम्म सबैभन्दा उपयुक्त ठाउँ स्याङ्जाको सोरेक ठहरिएको उनको भनाइ छ ।
एड्भेन्चर बन्जी
विगतमा अग्ला पुलहरू हेर्न आउने पर्यटकले अहिले बन्जी र स्विङ गर्ने उद्देश्य बनाउन थालेका छन् । पर्वतमा बन्जीजम्प गर्नका लागि पहिल्यै बुकिङ गर्नुपर्ने अवस्था छ, नत्र पालो नआउन पनि सक्छ । पाँच वर्षभन्दा बढी समय लगाएर निर्माण गरिएको बन्जीले पर्वत जिल्लाकै पहिचान फेरिदिएको द क्लिफका अध्यक्ष कार्की बताउँछन् । कोभिड महामारीमा पनि मुलुकभरबाट बन्जी र स्विङ गर्नका लागि पर्वत आउनेहरूको भिड बाक्लो रहेको छ । यो कम्पनीले बन्जी र स्विङसँगै स्काई साइक्लिङ, गुलेली पिङ र स्तरीय रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ ।
बन्जी र स्विङ दुवै एकपटक सञ्चालन गर्न सकिने गरी पूर्वाधार तयार पारिएको छ । यो स्विङ विश्वकै अग्लो भएको सञ्चालकको दाबी छ । बन्जी गर्नकै लागि रुपन्देहीबाट आएका युवा सौरभ शर्मा भन्छन्, ‘बन्जी गर्दाको दुई मिनेट क्षण मेरा लागि जीवनभर स्मरणयोग्य रहिरहनेछ ।’ सिन्धुपाल्चोक घर भएका राजु कार्कीको नेतृत्वमा पर्वतका व्यवसायीहरू युवराज जोशी, नेत्र पराजुली, राजन जोशी, नवराज शर्मा र फ्रान्सेली नागरिक फ्लोरेन्सको २८ करोड लगानीमा परियोजना निर्माण भएको हो । कम्पनीका अनुसार बन्जी वा स्विङ गर्न साढे ६ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । पोखरादेखि कुश्मासम्मको दुईतर्फी गाडीको सुविधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । कम्पनीले बलेवा क्षेत्रमा २५ रोपनी क्षेत्रफलमा रिसोर्ट र गुलेली शैलीको पिङ पनि सञ्चालनमा ल्याएको छ ।
आकाशमै साइक्लिङ
द क्लिफले स्टिल कोर केबल प्रयोग गरेर स्काई साइक्लिङ तयार पारेको छ । विश्वकै सबैभन्दा उचाइमा सञ्चालित कालीगण्डकी खोँचको स्काई साइक्लिङ २ सय २८ मिटर अग्लो र ३ सय मिटर लामो हुनेछ । कम्पनीका अर्का सञ्चालक नेत्र पराजुलीका अनुसार एकपटकमा दुईजनाले साइक्लिङ गर्न सक्छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्काई साइक्लिङ तयार गरिएको हो । साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काएर लिकमा रेल गुडेझैँ फिक्स ह्यान्डल भएको साइकललाई रोपमा कुदाइन्छ । स्काई साइक्लिङको सञ्चालन भने केही महिनापछि गरिने अध्यक्ष कार्की बताउँछन् ।
अग्ला पुलहरूको स्काई चक्रपथ
अग्ला र लामा पुलहरूको जिल्ला भनेर चिनिने पर्वतमा पुलैपुलको चक्रपथ पनि बनेको छ । कालीगण्डकीको खोँचमा बनाइएका पुलहरूले कुश्मा, फलेबास र बाग्लुङ नगरपालिकालाई जोड्ने भएपछि यहाँ पुलैपुलको चक्रपथ (रिङरोड) बन्ने भएको हो । जिल्लालाई साहसिक र धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यसहित पुलैपुलको चक्रपथ बनाउने योजना अघि सारेको चक्रपथका परिकल्पनाकार रामबहादुर सुवेदी बताउँछन् । मोदीवेनी दिव्यधामलाई अग्ला पुलहरूको चक्रपथबाटै परिक्रमा गर्न मिल्ने गरी निर्माण थालिएको मुडिकुवा–कैया झोलुंगे पुल निर्माण हालै सम्पन्न भएको छ । पुलैपुलको चक्रपथ नेपालकै नमुना र जिल्लाको पर्यटन प्रवद्र्धनमा कोसेढुंगा साबित हुने उनको विश्वास छ ।
हालै सम्पन्न भएकोे मुडिकुवा–कैया झोलुंगे पुल, कुश्मा–कैया झोलुंगे पुल र उचाइको कुश्मा–मुडिकुवा झोलुंगे पुलबाट करिब आधा घन्टामा चक्रपथको फन्को मार्न सकिन्छ ।
१४ सय मिटर लामो जिपलाइन
पर्वतको कुश्माकै चाक्ले डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण धमाधम भइरहेको छ । पर्वतका युवा व्यवसायीहरूको ११ करोड लगानीमा जिपलाइन निर्माण भइरहेको हो । जिपलाइन निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको सञ्चालक सुनील बानियाँ बताउँछन् । भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन मेस्सीका अनुसार यो जिपलाइन सुपरम्यान शैलीमा निर्माण गर्न लागिएको हो । सुपरम्यान शैलीमा बनाउन लागिएको पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन हुने सञ्चालक बताउँछन् । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा छ । उनीहरू साउने बगरमा रिसोर्टसमेत बनाउने योजनामा छन् । यो जिपलाइनमा नगरप्रमुख जोशीसहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षत्री र सुनील बानियाँको लगानी छ ।
सिसैसिसाको स्काई ब्रिज
कालीगण्डकी नदीमाथि सिसैसिसाबाट बनाइएको स्काई ब्रिज पनि सञ्चालनमा आउने भएको छ । हार्नेस जिपलाइन प्रालिले जिपलाइन निर्माणस्थलमै सिसाको स्काई ब्रिज बनाउन लागेको हो । कालीगण्डकीको कल्लेरी भिरमा करिब ४० मिटर लम्बाइको चर्किने सिसा प्रयोग गरेर एड्भेन्चर ब्रिज निर्माण गर्न थालेको कम्पनीका निर्देशक राजकुमार बस्नेत बताउँछन् । पहिलो चरणमा जिपलाइनकै संरचनालाई प्राथमिकता दिएर निर्माण कार्य भइरहेको बताउँदै उनले भने, ‘रिसोर्ट र सिसाको ब्रिज निर्माणको काम केही महिनापछि सुरु हुनेछ ।’
अनौठो यान्त्रिक पुल
करिब ७ वर्षअघि कालीगण्डकी नदीमाथि कुश्मा–बलेवा यान्त्रिक पुल सञ्चालनमा आइसकेको छ । करिब ६ करोड लगानीमा निर्माण भएको यान्त्रिक पुल कुश्मा र बाग्लुङको बलेवा क्षेत्रका लागि अत्यावश्यक साधन त रह्यो नै, त्यसमाथि घुम्न आउने पर्यटकका लागि आकर्षक गन्तव्य पनि साबित भयो । पर्वतमा आउने आन्तरिक तथा बाह्य पर्यटकले कालीगण्डकीमाथि बनाइएको यो यान्त्रिक पुलमा १० मिनेटको यात्रा गर्न रुचाउने गरेका छन् ।
साहसिकका लागि क्यानोनिङ
कुश्मा नगरपालिका–३, दुर्लुङस्थित महभिर झरनामा साहसिक खेल क्यानोनिङ व्यावसायिक रूपमा सुरु भएको छ । साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ खेल सञ्चालन गरिएको हो । १ सय १० मिटर अग्लो झरनामा गत सातादेखि व्यावसायिक रूपमा क्यानोनिङ सुरु भएको हो । दुर्लुङ क्यानोनिङ एन्ड क्याभिङ प्रालिले झन्डै १० लाख रुपैयाँ लगानीमा क्यानोनिङ सुरु गरेको हो । घना जंगलभित्र रहेको ठूलो छहरामा क्यानोनिङ गर्न दशकअघि नै सम्भाव्यता अध्ययन गरिए पनि अहिले आएर पूरा भएको कम्पनीका अध्यक्ष उद्धिमबहादुर गुरुङले बताए । नयाँपत्रिका दैनिकबाट