काठमाडौं, ११ वैशाख । उच्च अदालत दिल्लीले अस्पतालमा अक्सिजन ढुवानीमा बाधा उत्पन्न गर्नेलाई फाँसी दिने निर्णय सुनाएको छ । अक्सिजन अभावका कारण दैनिक मृत्युदर बढ्न थालेपछि अदालतले आक्रोशपूर्ण फैसला गरेकाे हाे । ‘जसले अस्पतालमा अक्सिजन ढुवानीमा बाधा उत्पन्न गर्नेछ, उसलाई फाँसीमा झुण्ड्याइनेछ,’ अदालतको आदेशमा भनिएको छ ।
न्यायाधीश विपिन साँघी र रेखा पल्लीको इजलाशले कोभिडका गम्भीर बिरामीको उपचारका क्रममा भइरहेको अक्सिजन कमीमाथि परेको रिटमा सुनुवाइपछि यस्तो फैसला सुनाएको हो । अपीलकर्ता महाराजा अग्रसेनले अस्पतालहरुका तर्फबाट रिट दायर गरेका थिए । दिल्लीका नागरिकले अक्सिजन पाउन नसकिरहेको मुद्दामा अदालतले भनेको छ, ‘यो आपराधिक स्थिति हो । यदि कसैले अक्सिजन ढुवानी रोक्छ भने, त्यसलाई कुनै पनि हालतमा छाडिने छैन, फाँसीमा झुण्ड्याइनेछ ।’
अदालतले अक्सिजन अभावलाई लिएर उठाइएका कदमप्रति पनि असन्तुष्टि जनाएको छ । अदालतले चाहे ठूला अधिकारी हुन् या सानो तहका कर्मचारी, अक्सिजन अभाव सिर्जना गर्नेलाई कुनै पनि हालतमा नछाड्ने स्पष्ट पारेको छ ।
सुनुवाइका क्रममा इजलाशले दिल्ली सरकारसँग समयमै अक्सिजन नमिल्नुको कारण सोधेको छ । यसका लागि सरकारलाई आफ्नै अक्सिजन प्लान्ट किन नबनाएको भन्दै प्रश्न पनि गरेको छ । यस्तै, केन्द्र सरकारसँग पनि दिल्लीमा कति अक्सिजन आवश्यक हो भनेर जानकारी माग गरेको छ ।
(एजेन्सी)