पोखरा । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित लुम्लेमा रहेको अस्ट्रेलियन क्याम्प पर्यटक नआउँदा सुनसान बनेको छ भने व्यवसायीले लाखौँ घाटा व्योर्होनुपरेको छ ।
कोभिड–१९ अघि पर्यटकले भरिभराउ हुने अस्ट्रेलियन क्याम्प अहिले सुनसान छ । कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कँदैआए पनि अस्ट्रेलियन क्याम्पमा भने चहलपहल शून्यजस्तै छ । फाट्टफुट्ट आन्तरिक पर्यटकबाहेक अहिले हाइकिङ गन्तव्यका रूपमा रहेको चर्चित अस्ट्रेलियन क्याम्प सुनसान भएको पर्यटन व्यवसायी टुक बहादुर क्षेत्री बताउनुहुन्छ ।
अस्ट्रेलियन क्याम्प विशेष गरी विदेशी पर्यटकको रोजाइमा पर्दछ । सिजनको समयमा झण्डै दैनिक ३०० विदेशी मात्र पर्यटक आउने अस्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान छ । पर्यटकलाई लक्षित गरी खुलेका होटल, रेष्टुरेण्ट एक बर्ष देखि सुनसान बन्दा ब्यवसायी समेत हतोत्साहित बनेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने उक्त क्याम्पका होटेल व्यवसाय, किराना पसल र अन्य व्यवसाय यति बेला चर्को आर्थिक मन्दीमा रहेको स्थानीय व्यवसायी पूर्ण बहादुर क्षेत्रीले बताउनुभयो ।
पोखराको फेदीदेखि पदयात्रामार्फत धम्पुस हुँदै अस्ट्रेलियन क्याम्प र अस्ट्रेलियन क्याम्प हुँदै फर्किँदा काँडे आउने पदमार्गको रुट छ तर पछिल्लो समय धम्पुससम्म सडक पुगेपछि धम्पुसबाट एक घण्टाको पदयात्रा गरी अस्ट्रेलियन क्याम्प पुग्न सकिन्छ ।
हाइकिङ गरी अस्ट्रेलियन क्याम्प पुगेका पर्यटक आँखै अगाडिको माछापुच्छ्रे हिमाल देखेर मोहित हुने गरेका छन् । कोरोना भयावहका कारण विदेशी पर्यटक आउने क्रम रोकिएपछि अस्ट्रेलियन क्याम्प एक वर्षदेखि सुनसान हुँदा मासिक लाखौँ आर्थिक कारोबार खस्किएको छ ।