पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको पर्यटन विकासको लागि पर्यटन बोर्ड वा विकास प्राधिकरण र पर्यटन विश्व विद्यालय आवश्यक रहेको बताउनुभएको छ । नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीको २६ औं साधारण सभाको उद्घाटन मन्त्री लम्सालले अबको पर्यटन गुजारा चलाउने खालको नभई नयाँ सम्भावनाको खोजी गरेर प्रतिष्पर्धात्मक रुपमा अघि बढ्ने खालको हुनुपर्ने भन्दै पर्यटन विकासको लागि पर्यटन बोर्ड वा विकास प्राधिकरण र पर्यटन विश्व विद्यालय आवश्यक रहेको बताउनुभएको हो ।
“विश्व बजारसँग प्रतिष्पर्धा गर्ने खालको पर्यटन हामीलाई चाहिएको छ, यो खालको पर्यटन विकासको लागि हामीले दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ, मन्त्री लम्सालले भन्नुभयो” दक्ष जनशक्ति उत्पादन गर्न पर्यटन पर्यटन विश्व विद्यालय खोल्नुपर्छ भने पर्यटन क्षेत्र विकासको लागि पर्यटन बोर्ड वा विकास प्राधिकरण हामीले खोल्नुपर्छ ।
मन्त्री लम्सालले अबको पर्यटन गुजारा चलाउने खालको नभई नयाँ सम्भावनाको खोजी गरेर प्रतिष्पर्धात्मक रुपमा अघि बढ्ने खालको हुनुपर्नेमा जोडदिनुभयो ।
गण्डकी प्रदेश प्रकृति संस्कृति र साहसिक गतिविधिको हब भएकाले पर्यटनको दीर्घकालीन विकासका लागि प्रदेश सरकारले योजनावद्ध विकासका कार्यक्रम तय गरेको उहाँको भनाइ थियो । गण्डकी प्रदेशका ११ जिल्लामा सयौँ गन्तव्यहरु रहेको चर्चा गर्दै त्यसमा एक गन्तव्यमा कम्तिमा १० आकर्षण निर्माण गर्नु पर्नेमा जोडदिनुभयो । उहाँले पर्यटकका लागि खाने,बस्ने,घुम्ने, सुचना, सुरक्षा ट्राभल्सका लागि दक्ष जनशक्ति निर्माण गर्नु अहिँलेको चुनौती भएको भन्दै यसमा सरकार र निजि क्षेत्र मिलेर पर्यटन बाट समृद्धि हासिल गर्ने तर्फ लाग्नुपर्ने बताउनुभायो ।
आन्तरिक उडानबाट पर्यटन प्रवद्र्धनका साथै पूर्वाधार विकासमा पनि सरकारले तयारी गरेको बताउनुभयो । ‘हामी व्यवस्थित योजनाको लागि गृहकार्यमा छौ, नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरेर अघि बढ्छौं मन्त्री लम्सालले भन्नुभयो ।’ पर्यटन क्षेत्रलाई व्यवस्थित गराउन व्यवसायी बीचको एकता पनि आवश्यक रहेको औल्याउँदै एकीकृत तथ्यांकका लागि व्यवसायीले सही सूचना दिन नखोजेको समेत बताउनुभयो ।
‘वार्षिक १० लाख पर्यटक आउँछन् भन्ने अनुमान छ तर सही सूचना लिन अझै समस्या छ । व्यवसायीले नै पर्यटकको सही सूचना दिन आनकानी गर्छन्,’ मन्त्री लम्सालले श्रममा जोडिएर सरकारलाई नछली नढाँटी वैधानिक बाटोबाट अघि बढ्ने सके समृद्धि हासिल हुने कुरामा जोड दिनुभयो ।
उहाँले सरकारसँग गुनासो गरेर मात्र नभइ आफ्नो क्षेत्रमा दक्षजनशक्ति तयार गरेर सेवा दिन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले, ‘अब सरकारसँग गुनासो गर्ने तिर मात्र नलाग्नुस, यस क्षेत्रमा दक्ष जनशक्तिको निकै अभाव छ, पर्यटकलाई कसरी उत्कृष्ट सेवा दिएर खुसी बनाउन सकिनछ त्यता तिर जुट्नुस् ।’ उहाँले व्यवसायीलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो ।