५ चैत्र, २०७७
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हामीले निर्वाहमुखी पेशा, व्यवसाय अंगालेकै कारण ग्रामीण क्षेत्र रित्तिदै गएको बताउँदै अब आम्दानी हुने काम नगरेसम्म हामीले सोचेको समृद्धि ल्याउन नसकिने बताएका छन् । विहादी गाउँपालिकाको वडा नं. ४ वहाकीमा निर्मित गौरादेवी देविस्थान मन्दिरको उद्घाटन गर्दै मन्त्री लम्सालले समय खर्चिलो बन्दै गएको तर हाम्रो सोच परम्परागत निर्वाहमुखी व्यवसायमै केन्द्रित हुँदा हामीले बनाएका सडक तराईतिर बसाई सराई गराउने माध्यम बनेकोमा दुखेसो समेत गरेका थिए । अरबौं बजेट खर्चेर बनाएका यी सडकबाट उता (मधेश) तिरबाट आउँदा मात्रै भरिभराउ गराएर ल्याउने होइन, यताबाट उता पठाउँदा पनि भरिभराउ गराएर नपठाएसम्म विहादीबासी आत्मनिर्भर बन्न नसक्ने बताउँदै मन्त्री लम्सालले भने- "उत्पादनमा तपाईहरु लाग्नुहोस्, बजारीकरणमा हामी सहयोग गर्छौं ।" कार्यक्रममा बोल्दै विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले कृषि उत्पादनमा विहादी गाउँपालिकालाई आत्मनिर्भर बनाउनकै लागि कृषिलाई आधुनिकिरण गर्न तर्फ केन्द्रित रहेको बताएका थिए । गाउँपालिकाले यसै आवमा मात्रै एकसय थान मिनि ट्रेलर एक सय थाननै कुटनी पिसनी मिल, एक घर : एक टनेल, सिंचाईका लागी प्लाष्टिक पोखरी लगायतका काम गरिरहेको अध्यक्ष भुसालले बताएका थिए । गौरादेवी देविस्थान मन्दिर व्यवस्थापन समितका अध्यक्ष भुमादेवी न्यौपानेको अध्यक्षता र टिकाकुमारी शर्मा न्यौपानेको संचालनमा भएको उक्त कार्यक्रममा माओवादी केन्द्रका, पर्वत जिल्ला सचिवालय सदस्य रिखिराम भुसाल, उच्च अदालत पोखराका शाखा अधिकृत रामप्रसाद न्यौपाने, होटल व्यवसायी महासंघ गण्डकीका वरिष्ठ उपाध्यक्ष गौरीश्वर न्यौपाने, सगरमाथा मा.वि. का शिक्षक खगेश्वर न्यौपाने, विप्लवी न्यौपाने लगायतले बोलेका थिए ।