पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्नुभएको छ । ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको चारतले प्रतिष्ठान भवनको सोमबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, जनतालाई सेवासुविधा सहज ढङ्गले दिनुपर्नेमा जोडदिनुभयो । उहाँले जनताका मौलिक हकको कार्यान्वयनको उद्देश्य अनुरुप काम गर्न आग्रह गर्नुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यान्वयन गर्ने उक्त भवनको लागि यो वर्ष साढे ६ करोड रुपैयाँमात्र विनियोजन गरिएको छ । प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ भने प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमअन्तर्गत प्राप्त ससर्त अनुदान ५ करोड रुपैयाँ यो वर्ष भवनका लागि छुट्टयाइएको हो । बाकीँ रकम अर्को आर्थीक बर्षमा विनियोजन गर्ने तयारी छ ।
नदिपुरमा रहेको उक्त प्रतिष्ठानले जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षित गर्ने काम गर्ने छ । ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुने बताइएको छ । भवनको डिजाइन स्केल आर्किटेक्ट प्रालिले गरेको हो ।
गण्डकी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सरकारी तथा गैरसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवम् शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले प्रतिष्ठान स्थापना गरेको हो ।