पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकासका कामहरू देखेर स्वदेशी तथा विदेशी तत्वहरु खपि नसक्नु अवस्थामा पुगेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफु नेतृत्वको सरकारले राम्रो काम गरेकाले प्रहार खेपिरहेको बताउनुभयो । राष्ट्रलाई सार्वभौमसत्ता सम्पन्न बनाउदै विकास, परिर्वतन र समृद्धिको मार्गमा हिड्याउदा आफू विरुद्ध षडयन्त्र भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रलाई स्वाधीन बनाउने चाहना राख्दा देशभित्र तथा बाहिरका विभिन्न शक्तिहरु आफ्नो विरुद्धमा क्रियाशील रहेको बताउनुभयो । प्रतिक्रियावादीका मतियारहरुले राष्ट्रको विकास नचाहे पनि देशलाई समृद्धशाली बनाउने अभियानको अन्त्य कहिँल्यै नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले योजनाबद्ध ढंगबाट विकास निर्माणका कामलाई आगाडी बढाएको बताउदै पछिल्लो तिन बर्षमा जनताले विकासको प्रत्यक्ष अनुभुती हुने गरि काम गरेको दाबी गर्नुभयो । उहाँले नेपालमा दैनिक ५.७ कि.मी.का दरले सडक कालोपत्रे भएको तथा मोटरेवल पुलको काम पनि तिब्र गतिमा अगाडी बढिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण तथा उद्योग धन्दा कलकारखानाको विकास गरि रोजगारी सिर्जना गर्ने काम वर्तमान सरकारले गरिरहेको बताउनुभयो । उहाँले शिक्षा,स्वास्थ्य, सडक, खानेपानी देखी तुईन विस्थापित गरि झोलुंगेपुल निर्माण, हवाई, यातायात लगाएतका क्षेत्रमा उल्लेखनिय काम भईरहेको दाबी गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्नुभएको थियो भने पोखरा रंगशालाको अवलोकन तथा निरिक्षण समेत गर्नुभएको थियो ।
यसै बिच गृहमन्त्री रामबहादुर थापा (बादल) ले पार्टी एकतामा योगदान पु¥याउन प्रचण्ड–माधव समूहलाई आग्रह गर्नुभएको छ । पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर कम्यूनिष्ट आन्दोलनलाई मुर्त रुप दिन आग्रह गर्नुभयो । प्रचण्ड–माधव समूहलाई सच्चिने अन्तिम अवसर भएको भन्दै उहाँले भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन आग्रह गर्नुभयो ।