नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानुन विपरित ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिराखेको बताएका हुन्।
यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए। ‘प्रधानमन्त्री र सरकारले आफैँले प्रतिनिधिसभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ,’ उनले भने, ‘त्यसको विपरीत गैरकानुनी ढंगले ज्यादतिपूर्ण, बलमिच्याइँपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ। यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो।’
प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेसी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरू प्रतिवद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाडने पनि बताए। उनले भने ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यस प्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रूपमान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं।’
निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाई गरेको प्रति आफूहरू सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताए। तर पनि ढिलोचाँडो संविधान र कानुनअनुसार फैसला गर्ने विश्वास आफूहरूले गरेको पनि बताए। ‘निर्वाचन आयोगले ढिलाइँ गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं। तर पनि संवैधानिक अंगहरू सबैले संविधान र कानुनअनुसार ढिलोचाँडो सही फैसाला गर्नेछन् भन्ने अपेक्षा गर्दछौं,’ उनले भने।
शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षासमेत गरेको छ। प्रवक्ता श्रेष्ठले आन्दोलनको संघर्षमा सत्तासिन गुटबाहेक सिंगो देश एकताबद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्यांकन बैठकले गरेको बताए। सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको बताए।
‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधीन मुद्दाका बारेमा फैसाला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधान सम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्ने छ भन्ने विश्वास व्यक्त गरेको छ,’ उनले भने। सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानुनी लडाइँसमेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।
यस्तै, पार्टी एकीकरणका काम छिट्टै पुरा गर्ने र त्यसअन्तर्गत प्रदेश कमिटीका पदाधिकारीको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पूरा गर्ने विषय केही दिनभित्रमा पूर्ण गरिने र त्यसको निम्ति प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्षद्व यले गराएको प्रवक्ता श्रेष्ठले बताए।