शुक्रबार, असोज ४ गते २०८१

संविधानको रक्षक नै भक्षक बनेपछि आन्दोलनकाे आवश्यक्ता पर्‍याे : प्रचण्ड

संविधानको रक्षक नै भक्षक बनेपछि आन्दोलनकाे आवश्यक्ता पर्‍याे : प्रचण्ड

अखबार दैनिक
बिहीबार , फागुन ६ २०७७
  • संविधानको रक्षक नै भक्षक बनेपछि आन्दोलनकाे आवश्यक्ता पर्‍याे : प्रचण्ड

    लाखौं जनताको रगत पसिनाबाट ल्याइएको लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने खतरा बढ्दै गएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन्। सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगरमा बिहीबार नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जलि सभामा प्रचण्डले अहिलेको सरकार प्रतिगमनकारी बनेको आरोपसमेत लगाएका छन्। संविधानको रक्षक नै भक्षक बनेपछि देशमा आन्दोलन गर्नुपर्ने आवश्यक्ता आएको उनले बताए।

    images

    ‘केपी ओलीको सरकार प्रतिगमनतर्फ उन्मुख बनेको छ। जनताको हक अधिकार कुण्ठित गर्ने काम गरेको छ। संविधानलाई लत्याएर निरकुंशता ल्याउने दाउमा अहिलेको सरकार लागेको छ,’ उनले भने। संविधानमा अझै केही कुरा पुगेको छैन भन्नेमध्येमा आफू पनि भएकाले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा संसदभित्र संविधान संशोधनका प्रस्ताव दर्तासमेत गराएको बताए।

    अहिलेको संविधानको राम्रो पक्षको रक्षा गर्दै अपुग कुरा परिमार्जन गर्न जरुरी भएको उनले बताए। मधेशी, आदिवासी जनजाति, महिला, दलित तथा अल्पसंख्यक समुदायको हक अधिकारको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढ्नुको कुनै विकल्प छैन। उनले अन्त्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई एक भएर आन्दोलनमा सहभागि हुनका लागि आग्रहसमेत गरे।

    त्यस्तै सोही समुहका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाग्लेको निधनले पार्टीले एक योद्धा गुमाएको बताए। उनले प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध संविधानमा भएका सकरात्मक र प्रगतिशील कुरालाई हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने, निरंकुशता फेरि लाद्न खोज्ने प्रवृत्ति केपी ओलीको सरकारमा देखा परेको बताए।

    केपी ओली प्रवृत्तिलाई परास्त गरी संविधान, लोकतन्त्र र गणतन्त्रको जित सुनिश्चित गर्न पहिलाभन्दा थप दृढता र संकल्प लिएर कयौं गुणा बढी आन्दोलन गर्नुपर्ने आवश्यक्ता भएको नेपालले बताए।

    नेपालले सर्लाहीमा मिटरब्याजी गिरोहले कयौं किसानको बिल्लीबाठ बनाएको पनि बताए। ‘म पार्टीका साथीहरूलाई भन्न चाहन्छु, यदि हाम्रा साथी त्यस्ता शुदखोर किसानमारासँगको संगत छ भने आजैको दिनबाट त्यस्ताका संगत छाड्न आग्रह गर्छु, हैन भने पार्टीले त्यस्ता साथीहरूको पहिचान गरी कार्वाही गर्छ।’

    माघ २१ गते दिउँसो बरहथवामा पार्टी जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुस सम्पन्न गरी फर्कने क्रममा बागमतीमा मोटरसाइकल दुर्घटनामा वाग्लेको निधन भएको थियो। वाग्ले संघीय संसद् विघटन प्रकरण पश्चात प्रचण्ड–नेपाल समूहमा सक्रिय थिए। उनी हरिपुर नगरपालिका-१ जानकीनगर निवासी हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ