शुक्रबार, असोज ४ गते २०८१

अदालतलाई धम्काएको छैन, सस्तो लोकप्रियताका लागि मुद्दा हालियो : प्रधानमन्त्री ओली

अदालतलाई धम्काएको छैन, सस्तो लोकप्रियताका लागि मुद्दा हालियो : प्रधानमन्त्री ओली

अखबार दैनिक
बिहीबार , फागुन ६ २०७७
  • अदालतलाई धम्काएको छैन, सस्तो लोकप्रियताका लागि मुद्दा हालियो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरूद्ध सर्वोच्च अदालतमा परेको अपहेलनासम्बन्धी मुद्दा खारेज गर्नुपर्ने माग गरेका छन्। बिहीबार सर्वोच्चमा पेस गरेको ११ बुँदे लिखित जवाफमा प्रधानमन्त्रीले आफूले अदालतको मानहानी नगरेको जिकिर गर्दै आफूले बोलेका कुरामा फूलबुट्टा भरेर मुद्दा हालिएको दाबी गरेका छन्।

    images

    उनले आफू विरुद्ध दायर निवेदन पूर्वाग्राही रहेको भनेका छन्। ओलीले हुँदै नभएको विषय र अप्रासाङगिक कानुनी व्यवस्था उल्लेखगरी रिट निवेदकमा अदालतलाई भ्रमित पार्ने मनसाय देखिएको बताए। तथ्यहिन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने प्रधानमन्त्रीले जवाफमा उल्लेख गरेका छन्। यसले अदालतको समेत अमूल्य समय खेर जाने उनको भनाइ छ।

    ‘म पाँच दशकदेखि विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, समतामुलक समाजको पक्षमा उभिँदै चौध वर्ष जेलमा बसेको व्यक्ति हुँ। म सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु’, प्रधानमन्त्रीले भनेका छन्, ‘पहिलो संविधान सभाको कार्यकालमा म संविधान सभाको सदस्य थिइनँ तथापि उक्त संविधान सभामा गठित संविधान र कानुनको व्यवस्था सम्बन्धी तत्कालीन न्यायिक समितिबाट अदालत तथा न्यायपालिकाको स्वतन्त्रताको हनन् हुने गरी बहुमतको नाममा हुन गएको निर्णयप्रति आफ्नो तहबाट सशक्त विरोध गरी सम्मानित अदालतको स्वतन्त्रता तथा न्यायिक निष्पक्षता तथा विधिको शासन कायम राख्नु पर्छ भन्ने पक्षमा पहल गरेको थिएँ।’

    गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाई जारी रहेकै बेला प्रधानमन्त्री ओलीले संविधानमा संसद पुनःस्थापनाको व्यवस्था नै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए। रिट निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भनेर आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

    प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए। त्यसको सुनुवाई गर्दै अदालतले लिखित जवाफ दिन भनेको थियो। ओलीले बुझाएको जवाफमा ‘मुद्दा मैले आफैँले जित्न पाउँछु भन्न पाइन्छ’ भन्ने उल्लेख छ।

    ‘मलाई विपक्षी बनाई दायर भएका मुद्दामा लिखित जवाफ प्रस्तुतकर्ताले मैले मुद्दा जित्छु, मैले मुद्दा जिने आधार यस्ता छन् भन्न नपाउने हुँदैन, यो स्वाभाविक मानिन्छ। मुद्दामा बहस गर्ने विद्धान् कानुन व्यवसायीबाट समेत सोही आत्मविश्वासका साथ बहस हुने हो, त्यसैले कुनै मुद्दाको पक्षले मुद्दाको सम्बन्धमा व्यक्त गरेको करालाई अदालतको अवहेलनाको विषय बनाउन मिल्दैन। मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु न त कुनै कानुन व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु। मैले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको छु। प्रस्तुत मुद्दाको कुनै प्रयोजन नदेखिंदा मबाट अदालतको अवहेलना भएको भन्ने दावी नै अनुचित र खारेज भागी छ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ