पर्वत
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफामा पूर्वाधार निर्माणको काम थालिएको छ । उक्त गुफामा पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले रु. २५ लाख रकम यो वर्ष विनियोजन गरेको छ । पर्वती गुफामा पैदलमार्ग, तारबार, पर्खाल, मन्दिर लगाएतका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।
पार्वती गुफाको पूर्वाधार निर्माणको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको विकासवाट मुलुकको समृद्धि सम्भव भएको बताउनुभयो । उहाँले मुलुकमा बढिभन्दा बढि बाह्य पर्यटक भित्र्याउने गरी संघ र प्रदेश सरकारले तयारी गरेपनि कोभिड(१९ का कारण प्रभावित भएको बताउनुभयो । उहाँले अब कोभीड(१९ को संक्रमण कम हुँदै गएको र खोप पनि आइसकेकाले विस्तारै पर्यटनले फड्को मार्दै जाने बताउनुभयो । मन्त्री लम्सालले पर्यटन भित्र्याउनका लागि धार्मिक एवम् पर्यटकीय स्थलको ऐतिहासिक विशेषता जोडिएको कथालाई बेच्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाङ्ग, खुर्कोट संस्कृति एवम् धार्मिक पर्यटनका लागि महत्वपुणर् स्थल भएको बताउँदै त्यसका लागि सवैले मिलेरे नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । पार्वतीले भगवान शिवलाई पति पाउँ भनि ब्रत बसेको स्थल र भगवान शिव र पार्वतीको क्रिडास्थलको रुपमा समेत परिचित उक्त ठाउँका पर्याप्त भौतिक पूर्वाधारको विकास र प्रचारप्रसारका लागि प्रदेश सरकारले सँधै सहयोग गर्ने उहाँको भनाई रहेको छ ।
उहाँले प्रदेश सरकार उक्त क्षेत्रको विकासका लागि सवै सहयोग गर्न तयार रहेको बताउँदै नयाँ योजना लिएर आएमा आफुले सवै सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
फरक प्रसंगमा मन्त्री लम्सालले आगामी वैशाखमा जुनसुकै हालता पनि चुनाव हुने बताउनुभएको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ जनादेशका लागि आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गर्नुभएको भन्दै निर्वाचन कुनै पनि अवस्थामा नरोकिने बताउनुभयो । मुलुकको विकास र समृद्धिका थुप्रै कामहरु बाँकी रहेकाले तीनिहरुलाई पूरा गर्नपनि निर्वाचनको विकल्प नभएको बताउनुभयो । उहाँले पार्टीभित्रैका केहि तत्वहरुले मुलुकमा अराजकता निम्त्याउन खोजेको बताउँदै जनादेशमा जान डराउनेहरुको अब भविष्य नभएको बताउनुभयो । उहाँले वैशाखमा हुने निर्वाचनवाट विकासवादी, काम गर्न सक्ने जुझारु नेतृत्वलाई मत दिएर जिताउनु समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले पार्वती गुफा जस्ता ऐतिहासिक र धार्मिक स्थलहरुको पर्याप्त प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको ओईरो लाग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले पाङ(खुर्कोट क्षेत्र र यहाँका धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकासका लागि कुश्मा नगरपालिका सँधै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १ का अध्यक्ष देवेन्द्र सुवेदी, वडा नं. २ का अध्यक्ष यदुनाथ बास्तोला, भु तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेल, नेकपा कुश्मा नगरकमिटि अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिकाका लेखा प्रमुख कमलराज पौडेल, जग्गा दाताको तर्फवाट गौरबदास वैरागी र स्यामप्रसाद पौडेल, गुप्तेश्वर धार्मिक एवम् पर्यटकीय संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्मा लगायतले बोल्नुभएको थियो । गुफा संरक्षण समितिका अध्यक्ष छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भक्तिविलास सुवेदी र संचालन जग्गा प्राप्ति समितिका सचिब प्रेपप्रसाद शर्मा रेग्मीले गर्नुभएको थियो ।
सो अवसरमा गुफाका लागि आवश्यक जग्गा दान गर्ने १९ जना जग्गादातालाई सम्मान गरिएको थियो भने स्थानीले भजनकृतन समेत गरेका थिए ।