शुक्रबार, असोज ४ गते २०८१

कम्युनिस्टलाई सिध्याउन ओलीले राजावादीसँग हात मिलाएः प्रचण्ड

कम्युनिस्टलाई सिध्याउन ओलीले राजावादीसँग हात मिलाएः प्रचण्ड

अखबार दैनिक
शुक्रबार, माघ ९ २०७७
  • कम्युनिस्टलाई सिध्याउन ओलीले राजावादीसँग हात मिलाएः प्रचण्ड

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षमा पनि केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभामा प्रचण्डले तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको बताएका हुन्।

    images

    उनले भने, ‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं।’ उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय र विधानसमेत नमानेको उनले बताएका थिए। आफूहरूले ओली प्रवृत्ति सच्याउन नसकेकेको उनको भनाइ थियो। ओलीलाई तह लगाउन नसकेपछि आफूहरू जनतामा आएको प्रचण्डले बताए।

    उनले केपी ओलीलाई मात्रै दोषी देखाएर आफूहरु चोखो नहुने पनि बताए। ओलीलाई तीन वर्षसम्म पनि सच्याउन नसक्नु आफूहरुको कमजोरी भएको उनको भनाई छ। प्रचण्डले भने, ‘ओलीलाई दोषी देखाएर हामी चोखो हुन मिल्दैन। तीन वर्षसम्म पनि ओलीलाई सच्याउन नसक्नु हाम्रो कमजोरी हो। अब म तपाईंहरु समक्ष प्रतिवद्धता व्यक्त गर्छ यस्ता प्रवृत्तिप्रति उदार हुने गल्ती हामी गर्ने छैनौं।’

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रलाई विघटन गर्न खोजेको बताए। ‘प्रधानमन्त्रीले संविधान र लोकतन्त्रलाई विघटन गर्न खोजे। संविधान र लोकतन्त्र जनतको बलले आएको हो। हामी जनतासँग फेरी पनि गुहार माग्न आएका छौं। नेपाली जनताको प्रतिक्रान्ति विरोधी भावना घटेको छैन भन्ने प्रमाण आजको उपस्थितिले दिएको छ,’ उनले भने।

    उनले राजा महाराजालाई फाले पनि ओलीविरुद्ध उदाररुपमा प्रस्तुत हुनु आफूहरुको कमजोरी भएको बताए। प्रचण्डले भने, ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं। राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं। तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुरा गर्न सकेनौं।’

    उनले अगाडि भने, ‘मैले सोचेको थिएँ पार्टी एकतापछि र दुई तिहाई ल्याएपछि घोषणापत्रमा भनेजस्तै सबै क्षेत्रमा न्यायको नयाँ युग सुरु हुनेछ। सुशासन र पारदर्शीताको नयाँ युग सुरु हुनेछ। सबै उत्पीडितले राहत पाउनेछन्। हामीले घोषणापत्र जस्तै गर्न नखोजेको पनि होइन। तर सुरुदेखि अभाष भएको थियो, केपीजीले सहमति गर्ने तर कार्यान्वयन एउटा पनि नगर्ने हुन् कि भन्ने। सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो। हामीले त्यसका विरुद्ध बहस गरेका थियौं।’

    प्रतिनिधिसभा विघटनलाई देशका कुनै पनि संविधानविद्हरुले ठीक नभनेको उनले बताए। ‘संविधानविद्, पूर्व प्रधानन्यायाधीश, नागरिक अगुवा, पत्रकारिता जगत सिंगो देश यो प्रतिगमनका विरुद्ध खडा भएको छ,’ उनले अगाडि भने, ‘यसले के पुष्टि हुन्छ भने उनीहरुले चालेको कदम झुटो छ। यो सिंगो राष्ट्र एक जुट भएको छ।’

    उनले केपी ओलीको सेटिङलाई भत्काएर जनताको सेटिङ खडा गर्ने घोषणा गरे। ‘केपी ओली र केपी ओलीका मान्छेले सेटिङ मिलाइसकेका छौँ भन्ने गरेका छन्। उनीहरुले भन्ने गरेको सेटिङलाई जनताले भत्काएर नयाँ सेटिङ जनताको पक्षमा खडा गर्ने छन्। उनीहरुका प्रतिगामी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ,’ प्रचण्डले अगाडि भने, ‘आज काठमाडौंका सडकमा उर्लेको जनसागर हाम्रो अदालतले पनि देख्छ। निर्वाचनले पनि देख्छ। यो उपस्थितिले जनताको जित सुनिश्चित गरेका छन्।’

    प्रचण्डले प्रधानमन्त्री ओलीको एकमात्र मिसन भनेको आफूलाई सिध्याउनु भएको बताए। उनले ओलीले आफू र अर्का अध्यक्ष माधवकुमार नेपाललाई फुटाउन पनि लागिपरेको आरोप लगाए। ‘प्रधानमन्त्री ओलीको अहिलेको एकमात्र उद्देश्य भनेको प्रचण्डलाई सिध्याउने हो, त्यसका लागि उनी राजावादीसँग पनि मिलिसकेका छन्,’ उनले भने, ‘उनी म र माधव नेपालबीच फाटो ल्याउन लागि परिरहेका छन्।’

    प्रचण्डले ओली समूहमा लागेका पूर्वमाओवादी नेताहरुलाई भगौडाको संज्ञा दिए। उनले भने, ‘केही पूर्वमाओवादी जो ओलीको पक्षमा लागेका छन्। उनीहरुले ओलीका साइबर सेनाभन्दा पनि बढी खरानी घसेको देख्दा लाज लाग्छ। उनीहरु भगौडा हुन्।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ