पोखरा
गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण व्यावसायिक क्षेत्रमा परेको असरलाई कम गर्न प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनका लागि मंगलबार राष्ट्र बैंक सँग सम्झौता गरेको हो । कोभिड १९ बाट प्रभावित उद्यमी तथा व्यववसायीलाई निव्र्याजी ऋण दिन प्रदेश सरकारले व्यवसायी जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि तयार पारेको छ । कोभिड–१९ ले प्रभावित पारेको क्षेत्रहरु पर्यटन, यातायात, कृषि तथा उद्योगहरुको पुर्नउत्थान गरी उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीलाई कर्जा उपलब्ध गराईने कार्यविधिमा उल्लेख गरिएको छ । कोभिड १९ बाट प्रभावित व्यवसायी तथा उद्यमीहरुलाई ३ वर्षसम्मको लागि निव्र्याजी रुपमा ऋण प्रदान गरिनेछ । ऋणीले तिर्नुपर्ने ब्याज रकम प्रदेश सरकारले सम्बन्धित बैंकलाई उपलब्ध गराउने छ । प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार लघु घरेलु तथा साना उद्यम व्यवसाय कर्जा, साना पर्यटन व्यवसाय कर्जाअन्तर्गत १ लाखदेखि १५ लाख रुपैयाँसम्म तथा साना यातायात व्यवसाय कर्जा र साना सेवा व्यवसाय कर्जाअन्तर्गत ५० हजारदेखि १० लाख रुपैयाँसम्म व्यवसायीले ऋण लिन पाउनेछन् । ऋणीबाट बैंकले सेवा शुल्क र कर्जा सुरक्षण दस्तुर लगायतका अन्य कुनै पनि शुल्क लिन पाउने
छैनन् ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा जीवन रक्षा कोष भन्दै १ अर्ब रकम विनियोजन गरेको थियो । १ अर्ब रुपैयाँ ठूलो रकम नभएपनि कोभिड १९ को चपेटामा परेका व्यवसायीहरुलाई यसले घाउमा मल्हमको काम गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
गत आर्थिक वर्षमा गण्डकी प्रदेशले कूल ग्राहस्थ उत्पादनमा २७ अर्ब रुपैयाँको नोक्सान बेहोरेको प्रदेश नीति तथा योजना आयोगको तथ्यांकमा उल्लेख छ ।