पर्वत, विहादी
पर्वतको विहादी गाउँपालिकामा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । बिहादीवासीलाई लक्षित गरी अटो रिक्सा सञ्चालनमा आएको हो । गाउँपालिका केन्द्र सम्म आउजाउ गर्ने तथा अन्य कामकाजका लागि हिड्डुल गर्नेहरुका लागि अब रिक्साले सेवा दिने छ । ६ जना यात्रु बोक्ने क्षमताको रिक्सामा सामान पनि ढुवानी गर्न सकिने व्यवस्था छ । रिक्सा सञ्चालनमा आएसँगै जरुरी कामका लागि लामो पैदल यात्रा गर्नुपर्ने झन्झटबाट अब भने यात्रुले मुक्ति पाउने भएका छन् । यात्रुले भनेको ठाउँमा लैजाने तथा घर घरमा सामानसहित यात्रु पुर्याउने व्यवस्था गरिएको रिक्सा चालक सुर्यस ढकालले बताउनुभयो । उहाँका अनुसार बिहादी गाउँपालिकाको बाच्छा, बर्राचौर, रानीपानी, वहाकी, उराम शालिग्राम र हुवास तथा सेतीवेणी बजार क्षेत्रका सबै ठाउँमा रिक्साले सेवा दिनेछ । विहादी गाउँपालिकामा पहिलो पटक सञ्चालन हुन लागेको अटो रिक्साको मंगलबार शभारम्भ विहादी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ओमप्रसाद कुवँरले गर्नुभयो । शभारम्भ गर्दै कुवँरले स्थानियवासीको दैनिक कामकाजको लागि रिक्साले सहजता ल्याउने बताउनुभयो । गाउँपालिकाको केन्द्र पुग्न तथा यात्रु जान चाहेको स्थानमा रिक्साले पुर्याउनेभएपछि अब पैदलयात्रा गर्नुपर्ने स्थानियवासीको बाध्यता हटेको बताउनुभयो । साथै उहाँले विहादी गाउँपालिका द्रुत गतिमा समृद्धिको दिशामा अगाडी बढिरहेको बताउनुभयो । कुवँरले सडक, यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पर्यटनको क्षेत्रमा विहादी गाउँपालिकाले फड्को मार्न सफल भएको बताउनुभयो । विहादी गाउँपालिका बाट काठमाडौँ, पोखरा,वुटवल, नारायणगढ, वालिङ लगायतका स्थानहरुमा बस तथा जिपहरु छुट्ने गर्दछन् । विभिन्न स्थानबाट आएका यात्रुहरु र उनीहरुका समानहरु अब बसपार्क बाट अटो रिक्साले घरमै पुर्याउने छ ।