अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको छ । महाअभियोगको प्रस्तावमा दुईसय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन मात्रै बाँकी रहँदा ट्रम्पमाथि महाअभियोगको तयारी गरिएको बीबीसीले उल्लेख गरेको छ ।
महाअभियोगको प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने डेमोक्र्याट नेताहरुले बताएका छन् ।
महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन पार्टीका उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन भनेका छन् । सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् । उनले आइतबार आफ्ना साथीहरुलाई पत्र पठाउँदै भनेकी थिइन्,‘ हामी हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि तत्पर छौँ, किनकी राष्ट्रपतिबाट यी दुवै खतरामा छन्, हालका राष्ट्रपतिले हाम्रो लोकतन्त्रमा हमला गरेका छन्, त्यसैले कारबाही तत्काल आवश्यक छ ।’
यसैगरी ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले पुरै मन्त्रिमण्डललाई मनाएपछि २५ औँ संशाधन लागू हुनेछ र उनले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुत पद सम्हाल्ने छन् ।
महाअभियोगको प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको र संयुत्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप छ ।
केही दिन अघि जो बाइडनको विजयी भएको औपचारिक घोषणा गर्न नदिन ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । उक्त हिंसामा परी एक प्रहरी अधिकारी र चार सर्वसाधारणको मृत्यु भएको थियो ।