सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले सेवा प्रवाहमा विलम्ब नगर्न अनुरोध गर्नुभयो ।
सेवा प्रवाहका क्रममा आवश्यक प्रविधिक सहयोग र उपकरणको उपयोग गर्न उहाँले सुझाउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन आजको आवश्यकता हो भन्नुभयो ।
मुख्यसचिव एकनारायण अर्यालले प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी तुल्याउन आफूहरू क्रियाशील रहेको बताउनुभयो ।
त्यस अवसरमा उपसचिवद्वय राजुप्रसाद गुरागाइँ र चूडाराज न्यौपाने र शाखाअधिकृत सागर मिश्रलगायत १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो । रासस