सोमबार, मंसिर १० गते २०८१

पर्वतमा नेकपा भेला: माधव नेपाल दोस्रो अध्यक्ष हुन प्रचण्डको बुई चढेः मुख्यमन्त्री गुरुङ

पर्वतमा नेकपा भेला: माधव नेपाल दोस्रो अध्यक्ष हुन प्रचण्डको बुई चढेः मुख्यमन्त्री गुरुङ

अखबार दैनिक
शनिबार, पुस २५ २०७७
  • पर्वतमा नेकपा  भेला: माधव नेपाल दोस्रो अध्यक्ष हुन प्रचण्डको बुई चढेः मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (ओली) समुहका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टी भित्रकै नेताहरुले प्रतिनिधि सभा विगठन गर्न बाध्य पारेको बताउनुभएको छ ।

    images

    पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा (ओली) समुहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको बताउनुभयो । गुरुङले प्रचण्ड र माधवकुमार नेपालका क्रियाकलाप राष्ट्रियता विरोधी भएको आरोप लगाउँदै मुलुक यो परिस्थितिमा ल्याउनमा तीनै दुई जनाको मुख्य भूमिका रहेको बताउनुभयो । कुर्चिको लोभमा प्रचण्ड र नेपालले देश, सरकार र राष्ट्रियता विरोधी क्रियाकलाप गरेको आरोप लगाउँदै दुई जनाको कुर्चि मोह र पद लोलुपताले नेकपा विभाजनको सँघारमा पुगेको बताउनुभयो ।
    वैशाखसम्मको महाधिवेशन कुर्न नसकेर माधव नेपालले दोस्रो अध्यक्ष हुन प्रचण्डको बुई चढेको समेत गुरुङको भनाई रहेको छ । उहाँले राष्ट्रियता विरोधी शक्तिलाई परास्त गर्न एकजुट हुनुको विकल्प नभएको बताउँदै आगामी वैशाखमा हुने निर्वाचनवाट त्यस्ता तत्वहरु निमिट्यान्न हुने ठोकुवा गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीलाई सधैं अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद भंग गर्ने अवस्था आएको भन्दै सत्ताको लोभले गर्दा सडकमा पुग्नुपरेको बताउनुभयो । उहाँले मुलुकको सिमाना मिचिंदा आवाज उठाउने, गुमेको जमिन फिर्ता ल्याउने राष्ट्रप्रेमी प्रधानमन्त्री ओलीको पक्षमा गोलबन्द हुन आग्रह गर्दै पार्टीवाट चोईटिएर जाने देश द्रोहीको भण्डाफोर गर्न आग्रह गर्नुभयो ।गुरुङले पार्टीको संसदीय दलमा छलफल नगर्ने तर संसदमा पुगेर अविश्वास प्रस्ताव दर्ता गर्न खोज्दा यो दुर्घटना भएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपतिलाइ खुइल्याउँदा गणतन्त्रनै खुइलिने खतरा हुने चेतावनी दिनुभएको छ । उहाँले सम्मानीत संस्थालाई जथाभावी गर्नेले देशको राष्ट्रियतापनि संरक्षण गर्न नसक्ने ठोकुवा समेत गर्नुभएको छ । गुरुङले पार्टीवाट चोईटिएर गएको झुण्डले आफुलाई आधिकारीक भन्दै कोहोलो हाल्नु हास्यास्पद भएको बताउँदै भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पुष्कमल दाहाल जेट विमानको को पाईलट हुन असफल भएको बताउनुभयो । उहाँले कार्यकारी अध्यक्षको भूमिका निभाउन छाडेर सरकारको लोभ गर्दा प्रचण्ड पत्तासाफ हुने अवस्थामा पुगेको बताउँदै माधव नेपाल र झलनाथ जस्ता नेताहरु पनि उनको प्रलोभनमा परेर आफ्नो हैसियत गुमाएको बताउनुभयो । नेकपा र सुर्य चिन्ह आफ्नै रहने दबी गर्दै उहाँले आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने भएकाले त्यसैको तयारीमा लाग्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन  दिनुभयो । आफ्नो संगठनलाई मजबुत बनाउदै नेकपालाई शक्तिशाली र प्रभावशाली बनाउने गरी काम गर्न समेत मन्त्री लम्सालले आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद मन कुमारी केसीले सडकमा गएर आफ्नो राजनैतिक हैसियतनै गुमाउँदै राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्नुको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले राजनीतिक सस्कार सिक्न प्रचण्ड माधव समुहका नेताहरुलाई आग्रह गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य पदम गिरीले यो मुलुकको आधिकारीक नेकपा भनेकै ओलीले नेतृत्व गरेको पार्टी भएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।
    उहाँले पार्टीको सांठनिक विकास र आगामी निर्वाचनमा गोलबन्द भएर लाग्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य विमल लामिछानेले पार्टीको पार्टीको हितका निम्ति सम्पुणर् युवाहरु एकाकार भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिबालय सदस्य शिवप्रसाद पौडेल र संचालन कार्यालय सदस्य गोविन्द पहाडीले गर्नुभएको थियो । यस अघि कुश्माबजारमा जुलुस समेत प्रदर्शन गरिएको थियो । जुलुसमा सहभागिहरुले प्रधानमन्त्रीको पक्षमा नारावाजी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार