शुक्रबार, असोज ४ गते २०८१

अंग्रेजी नयाँवर्षमा यस वर्ष पनि पोखरा सडक महोत्सव’ हुने

अंग्रेजी नयाँवर्षमा यस वर्ष पनि पोखरा सडक महोत्सव’ हुने

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • अंग्रेजी नयाँवर्षमा यस वर्ष पनि पोखरा सडक महोत्सव’ हुने

    हरेक वर्ष अंग्रेजी नयाँवर्षमा यहाँ आयोजना हुने सडक महोत्सवले योपटक पनि निरन्तरता पाउने भएको छ । कोरोना भाइरस महामारी जारी रहँदा स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर महोत्सव आयोजना गर्न थालेको व्यवसायीले बताएका छन् ।  

    images

    रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको आयोजक रेबानका अध्यक्ष लक्ष्मण बरालले बताए । उनका अनुसार २२ औं संस्करणको यो महोत्सव पुस १५ देखि १७ गतेसम्म पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुनेछ ।  

    ‘स्वास्थ्य प्रति निकै नै सचेत रहेर यो पटक महोत्सव आयोजना गर्न थालेका छौ । सुस्ताएको पर्यटन क्षेत्रलाई थोरै भएपनि ब्यूताउँने प्रयास मात्र गर्न थालेका हौ,’ बरालले भने, ‘हरेकवर्ष हुने नियमित गतिविधिलाई कटौती गरेर तीनदिन मात्र महोत्सव आयोजना गर्दैछौ ।’ पुरानो अंग्रेजी वर्ष बिदाई र नयाँवर्षको स्वागत गर्दै रेबानले हरेकवर्ष एकै समय र अवधिका लागि यहाँ सडक महोत्सव आयोजना गर्दै आईरहेको थियो । पोखरामा आन्तरिक पर्यटक भिœयाउने सबैभन्दा ठुलो महोत्सवको रुपमा यसले पहिचान बनाएपनि अहिले अवस्था सहज नहुँदा पनि निरन्तरता दिन थालेको उनले बताए ।  

    ‘अघिल्ला वर्षजस्तो तामझाम गर्ने होईन, मात्र महोत्सवको निरन्तरता हो । घरभित्रै थुनिएका आन्तरिक पाहुनालाई केही आकारमा पोखरा भिœयाउन सकिने अपेक्षा छ,’ बुधबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष बरालले भने । व्यवसायीका अनुसार अघिल्ला संस्करणमा सडक महोत्सवमा पोखरामा करिब चारलाख आन्तरिक पाहुना आउने अनुमान रहेपनि यो पटक त्यो आकारमा नभई केही पाहुना आउने अनुमान छ ।

    महोत्सव संयोजक बसन्त गौतमका अनुसार महोत्सव अवधिमा हरेक दिन दिउँसो ३ देखि राती १० बजेसम्म यहाँ सांस्कृतिक कार्यक्रम हुनेछन् । तर, ‘इभ’ का दिन भने मध्यरातसम्म कार्यक्रम रहने उनले बताए । तर अघिल्ला वर्षजस्तो लाइभ ब्याण्डका कुनैपनि कार्यक्रम नहुने उनले बताए । त्यसबाहेक कोमागाने पार्कमा पनि कुनैपनि कार्यक्रम हुनेछैनन । महोत्सवस्थल तीनकिलोमिटर दुरीभित्र तीनवटा स्टेज बनाएर सांस्कृतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ ।  

    ‘पोखरा खुला छ । यहाँ सबै सेवा सुचारु छन् भन्ने सन्देश फैलाउनका लागि मात्र हामीले सांकेतिक रुपमा यो महोत्सव आयोजना गर्न थालेका हौ,’ गौतमले भने, ‘पाहुनालाई स्वागत गर्न हामी तयार छौ भनेर देखाउन पनि चाहेका हौ । पोखरा खुला रहेको सन्देश दिन सके आन्तरिक पाहुनाको आगमन बढ्ने अपेक्षा छ ।’

    पोखरा पर्यटन परिषद (पिटिसी) का अध्यक्ष गोपि भट्टराइले पर्यटनका गतिविधिलाई निरन्तरता दिनका लागि मात्र योपटक महोत्सव आयोजना गरेको बताए । उनका अनुसार यतिबेला पोखरा र आसपासका पर्यटकीय गन्तव्य बन्द रहेका छन् । कोरोनाको कारण देखाउँदै ती गन्तव्यमा लागेको ताला अझै खुल्न सकेका छैनन् । तर, अब ती गन्तव्य पनि खुलाउने तयारी रहेको भट्टराइले बताए । ‘पर्यटकलाई पोखरा घुम्न बोलाउने, तर, उनीहरुलाई घुम्ने ठाँउ नदिने हो भने पर्यटन प्रवद्र्धन हुँदैन,’ उनले भने, ‘अहिले ताला लागेका गन्तव्य पनि अब खुल्छन । पोखरा आउँदा घुम्न पाइदैन की भन्ने चिन्ता अब लिनुपर्दैन ।’ पर्यटकलाई स्वागत गर्दै सकारात्मक सन्देश प्रवाहका लागि मात्र महोत्सव गर्न थालेका उनले बताए ।

    महोत्सवको सञ्चालन सम्बन्धमा रेवानको टोलीले विहीबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री विकास लम्साल सँग छलफल गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ