पुस २,
सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले आज ५ बजे बोलाइएको बैठकबारे अनविज्ञता व्यक्त गरेको छ । परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् । तर, समिति सदस्य रहेका सभामुख सापकोटालाई भने बैठकबारे जानकारी नगएको बुझिएको छ ।
सभामुखका स्वकीय सचिव गोविन्द पाठकले बैठकबारे अनविज्ञता जनाए । संवैधानिक परिषद् बैठकबारे सोध्दा उनले भने, “खै थाहा भएन हजुर ।” यसअघिको बैठकमा सभामुख सापकोटाले पूर्वतयारी नभएको, गृहकार्य नभएको भन्दै बहिष्कार गरेका थिए ।
सभामुख बैठकमा नजाँदा कोरा नपुगेपछि सभामुख नभए पनि बैठक बस्न र निर्णय गर्न सक्ने सरकारले अध्यादेश नै ल्याएको थियो । तर, सो अध्यादेश फिर्ता लिन प्रधानमन्त्री बुधबार सहमत भएका थिए । सरकारले अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाभित्र विवाद भएको थियो ।