बिहीबार , असोज ३ गते २०८१

नेकपामा गुट भेला बढ्यो, फुटको औपचारिक घोषण हुने पर्खाइमा !

नेकपामा गुट भेला बढ्यो, फुटको औपचारिक घोषण हुने पर्खाइमा !

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • नेकपामा गुट भेला बढ्यो, फुटको औपचारिक घोषण हुने पर्खाइमा !

    सत्तारुढ नेकपा फुटको औपचारिक घोषणाको पर्खाइको अवस्थामा पुगेको देखिन्छ । शीर्षस्थ नेताहरु औपचारिक बैठकमा बसेर आपसी असमझादारी हटाउन इन्कार गरिरहेका बेला गुटगत भेला बढिरहेको छ । सचिवालय बैठक हुँदै स्थायी कमिटीमा पुगेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छुट्टाछुट्टै राजनीतिक प्रस्तावमाथि छलफल हुन सकिरहेको छैन ।

    images

    यही मंसिर २१ गतेबाट स्थायी कमिटी बैठक सुरु भएको छ । दोस्रो बैठक आइतबार (मंसिर २८ गते) बस्यो । तर, दुवै अध्यक्षको प्रस्तावमाथि छलफल हुन सकेको छैन । तर, अध्यक्ष प्रचण्डको प्रस्तावमाथि हुने छलफलमा आफू सहभागी नहुने अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पत्र पठाएर मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराए ।

    एक महिना अघि गत कात्तिक २८ गते सचिवालयमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावले आफूमाथि कानुन आकर्षित हुने गरी निराधार र कपोकल्पित गम्भीर आरोप लगाएको ओलीको भनाइ छ । मंसिर १३ गते ओलीले प्रचण्डको राजनीतिक चरित्र ध्वस्त बनाउने गरी प्रस्ताव पेस गरेको प्रचण्डको पक्षको आरोप छ ।

    शीर्षस्थ नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएर पार्टीको औपचारिक बैठकमा बसेर आपसी असमझदारी अन्त्य गर्ने भन्दा पनि कोठे बैठकमा अल्झिएका छन् । साथै शीर्षस्थ नेताहरुले नै गुटगत भेला बढाउँदा नेकपा फुटको औपचारिक घोषणको पर्खाइमा रहेको हो कि भन्ने आशंका उब्जाएको टिप्पणी हुन थालेको छ ।

    स्थायी कमिटी बैठक बस्नु अघि यही मंसिर १९ गते काठमाडौंको थापाथली क्याम्पसमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको भेला आयोजना गरिएको थियो । भेलालाई नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, केन्द्रीय सदस्य रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले सम्बोधन गरेका थिए ।

    यसको एक सातापछि मंसिर २५ गते ओलीविरुद्ध प्रचण्ड पक्षले गोप्य भेला र प्रशिक्षण गरेको थियो । सहमतिको सम्भावना न्यून रहेको भन्दै गत बिहीबार (मंसिर २५) प्रचण्ड पक्षले गोप्य रुपमा बागमती प्रदेशस्तरीय भेलाको आयोजना गरेको थियो । सो भेलामा बागमती प्रदेशका १४ जिल्लाका इन्चार्ज, सहइन्चार्जहरू, अध्यक्ष र सचिवहरू सहभागी थिए।

    भेलालाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै प्रशिक्षित गरेका थिए । आगामी दिनमा कठोर परिस्थिति आउने संकेत गर्दै उनीहरुले यसको सामनाका लागि तयार रहन निर्देशन दिएका थिए । प्रचण्ड–नेपाल समूहले आउँदो पुस ३ गते काठमाडौँ क्षेत्र नम्बर २ मा भेलाको आयोजना गर्ने तयारी गरिरहेको छ ।

    यता प्रचण्ड–नेपाल समूहले भेलाको आयोजना गरिरहँदा ओली समूह पनि यस्तै भेलामा सक्रिय हुन थालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीले आफूनिकट नेताहरुसँग गर्ने छलफल र परामर्श सामान्य जस्तै बनिसकेको छ ।

    प्रधानमन्त्री निवासबाहिर आफूनिकटका नेताहरुलाई ओलीले सक्रिय बनाएका छन् । शनिबार (मंसिर २७) मोरङको बिराटचोकमा ओली पक्षधरको गुटको भेला आयोजना गर्दै शक्ति प्रदर्शन गरिएको थियो । मोटरसाइकल ¥यालीपछिको भएको कार्यक्रमलाई ओलीका विश्वासपात्रको रुपमा चिनिएका पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा लगायतका नेताहरुले सम्बोधन गरे ।

    ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न गर्न मोरङ पुगेका बास्कोटाले आइतबार अल्पमत र बहुमतका आधारमा अघि बढे पार्टी दुर्घटनामा पर्ने चेतावनी दिए । स्मरणरहोस् सचिवालय र स्थायी कमिटीमा ओली अल्पमतमा देखिएका छन् ।

    यी भेला र अभिव्यक्ति प्रतिनिधि मात्र हुन् । देखिएर र गोप्य रुपमा दुवै पक्षधरको भेला आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा दुवै पक्षका नेता कार्यकर्ताहरु एकअर्काविरुद्ध खनिने गरेका छन् । जसले पार्टी विवाद समाधानभन्दा पनि झन पेचिलो बनाउँदै लगेको राजनीतिक विश्लेषकहरुले बताइरहेका छन् ।

    यी आशंकाकाबीच ओलीले प्रचण्डसँगको सम्वादलाई पनि निरन्तरता भने दिएका छन् । आफूनिकटका नेताहरुलाई खुमलटार पठाएर आफ्नो धारणाबारे प्रचण्डलाई जानकारी गराइरहेका छन् ।

    विवाद समाधान सकस बनिरहँदा आइतबार बिहान ओलीले आफ्नो सन्देशसहित आफूनिकट स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रचण्ड निवास खुमलटार पठाएका थिए ।

    पार्टी एकतालाई कायम राख्दै विवाद समाधान गर्नुपर्ने अध्यक्ष ओलीको धारणा सुनाएका नेम्वाङले पार्टी एकता कायमै राख्ने सम्बन्धमा प्रचण्ड पनि सकारात्मक रहेको बताए । यसअघि शनिबार ओलीनिकट स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि प्रचण्डलाई भेटेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ