शुक्रबार, असोज ४ गते २०८१

१६ मङ्सिरको बैठक विभाजन केन्दृत ?

१६ मङ्सिरको बैठक विभाजन केन्दृत ?

अखबार दैनिक
बुधबार, मंसिर १७ २०७७
  • १६ मङ्सिरको बैठक विभाजन केन्दृत ?

    मंसिर १७,

    images

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत्रूपमा विभाजनको बाटोतर्फ अग्रसर भएको नेताहरूले बताएका छन् । मङ्गलबार बसेको बैठकले सहमतिको सम्भावनालाई न्यूनीकरण गर्दै फुटको मार्ग प्रशस्त गरेको नेताहरूको दाबी छ ।

    बुधबार (आज) दिउँसो एक बजे सचिवालयको बैठक तय गरिएको छ । त्यसभन्दा अघि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट नेताहरूसँग परामर्श गरिरहेका छन् । आजको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुने जानकारी हिजै गराइसकेका छन् । उनले दसदिन बैठक स्थगित गरेर अनौपचारिक संवाद गर्ने र त्यसपछि मात्रै बैठक बस्नुपर्ने बताएका थिए ।

    तर, अरू सदस्यहरूले बैठक रोक्न नसकिने बताएपछि ओली उपस्थित नहुने बताएर बैठक टुङ्ग्याएका थिए । “सचिवालयले तय गरेको बैठक कुनै एकजना नेताले रोकेर रोकिँदैन । प्रधानमन्त्री ओली अनुपस्थित भए पनि बैठक बस्छ,” एक सचिवालयका नेता भन्छन् ।

    पार्टी फुटमा उल्लेखनीय प्रगति !

    मङ्गलबारको बैठकले पार्टी विभाजनका लागि उल्लेखनीय आधार तयार पारेको नेताहरूको जिकिर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विखण्डन, विभाजन र सर्वनासतिर धकेल्न खोजिएको भन्दै यसप्रकारको बैठकको उपादेयता सकिएको बताएका थिए । बहुमत पक्षधर नेताहरूले प्रतिवाद गरेका थिए । र, समस्याको जड ओली नै भएको बताएका थिए । बरु वामदेवले बैठक नरोक्ने, अनौपचारिक, औपचारिक छलफलबाट समस्या किनारा लगाउनुपर्ने बताएका थिए ।

    प्रधानमन्त्री ओलीले प्रचण्डले पेस गरेको प्रस्ताव लाञ्छना र गालीगलौजले भरिएको भन्दै सचिवालयमा छलफल गर्नुको कुनै अर्थ नरहेको बताएपछि बैठक चर्काचर्कीमा परिणत भएको थियो । “यसबाट उहाँ विभाजन चाहनुहुन्छ भन्ने प्रस्टै भइसकेको छ । आजको बैठकमा उहाँ आउनु भएन भने पनि बैठक बस्छ । त्यसले सबै दस्तावेजहरू स्थायी कमिटीमा लैजाने निर्णय गर्छ,” ती सदस्य भन्छन् मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबार स्थायी कमिटी बैठक बोलाएको थियो ।

    स्थायी कमिटी बैठकमा ओली चरम अल्पमतमा छन् । हिजोको अवस्था हेर्दा सचिवालयमा पनि ओलीको अवस्था दयनीय देखिन्छ । ९ सदस्यीय सचिवालयमा विष्णु पौडेलबाहेक कसैले पनि प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुहुँदैन भनेनन् । पौडेलले पनि ‘हुन्छ, हुँदैन म केही भन्दिनँ’ भन्दै आफूलाई तटस्थ राखेका थिए । ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षमा १२ जनामात्रै छन् । पूर्वमाओवादी केन्द्र समूहका हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी मध्यमार्गी धारमा उभिएका छन् । पूर्वमाओवादी केन्द्र समूहका लेखराज भट्टले मात्रै ओली समूहलाई साथ दिने नेताहरू बताउँछन् । यसो गर्दा ओलीको पक्षमा मुस्किलले १३ जना मात्रै पुग्छ ।

    स्थायी कमिटीले ओलीविरुद्ध एक्सन लिन सक्छ !

    आजको बैठकमा ओली अनुपस्थित भए नेकपा विधिवतरूपमा विभाजनको बाटोमा जाने नेताहरूले बताएका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी हुँदै विधानको धारा ६० अनुसार प्रक्रियाबाट निर्णय जाने पक्षमा प्रचण्ड समूह छ । विधानको धारा ६० मा ‘बहुमतको निर्णय नै पार्टी निर्णय’ उल्लेख गरिएकाले सहमति खोजेर पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने नेताहरू बताउँछन् । बैठक नै बस्न नमान्ने ओली सहमतिमा आउने सम्भावना न्यून रहेको अरूको बुझाइ छ ।

    भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि ओलीले पार्टीका निर्णय मान्ने अपेक्षा गरिएको थियो । उनले वचनबद्धता पनि गरेका थिए । तर, उनी भदौ २६ को निर्णय पनि स्वीकार–आत्मसात गर्न तयार नभएपछि परिस्थिति धेरै अघि बढिसकेको नेताहरू बताउँछन् । अतः केन्द्रीय कमिटी नपुग्दै स्थायी कमिटी बैठकले ओलीविरूद्ध ‘एक्सन’ लिन सक्ने नेताहरूको भनाइ छ ।

    ओलीको अलग्गै तयारी

    अहिलेसम्म पार्टी फुटाएको अपजस लिनुपर्ला भनेर दुवैतर्फका नेताहरू सचेत देखिन्छन् । बहुमत समूह प्रक्रियामा अघि बढेपछि ओलीले पनि आफ्नो तयारी गरेका छन् । उनले अध्यादेश ल्याएर पार्टी विभाजनको प्रक्रिया अघि बढाउने नेताहरू बताउँछन् । “स्थायी कमिटी बैठकले अध्यक्षबाट हटाउने तयारी गर्यो भने ओलीले अध्यादेश ल्याइसक्छन् । त्यसपछि शेरबहादुर देउवा या अरू पात्रलाई अघि सारेर संसदमा अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । अब त्यही हो नेकपाको यदुवंशी बाटो,” सचिवालयका एक नेता अखबारदैनिकलाई बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ