शुक्रबार, असोज ४ गते २०८१

नेकपा सचिवालय बैठक सुरु : ओली समूहमा मत बाझियाे

नेकपा सचिवालय बैठक सुरु : ओली समूहमा मत बाझियाे

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • नेकपा सचिवालय बैठक सुरु : ओली समूहमा मत बाझियाे

    मंसिर १६,

    images

    सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ । कात्तिक २८ गतेबाट सुरु भएको नेकपा सचिवालयको ७० औं बैठक प्रधामन्त्री निवास बालुवाटारमा सुरु भएको हो । आजको सचिवालय बैठकमा मङ्सिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्यहरूलाई सम्बोधन गरेर दिएको जवाफमाथि अरू सदस्यहरूले धारणा राख्नेछन् ।

    नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला चलेको थियो। गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र थमाएका थिए। ओलीले बैठक नबोलाई कात्तिक २५ गते पत्र लेखेर जवाफ दिएका थिए। त्यसको प्रत्युत्तरमा प्रचण्डले २८ गते अर्को पत्र बुझाएका थिए। आजको सचिवालय बैठकमा छलफल हुने त्यसैको जवाफ हो।

    नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली पछि हट्ने र आत्माआलोचना गर्ने पक्षमा छैनन्। उनले एकपटक सहमतिका लागि भदौ २६ मै फर्कन सार्वजनिक प्रस्ताव गरेका छन्। तर, त्यसबीचमा भएका नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठनलगायत पार्टीभित्र विवादित बनेका कदम सच्याउन तयार देखिएका छैनन्।

    बिहीबार स्थायी कमिटी बैठक तय भएको छ भने मङ्सिर २५ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ। तर, प्रधानमन्त्री ओलीले प्रचण्डको आरोप र पार्टी एकसाथ जान नसकिने प्रस्ट सन्देश दिइसकेको ओलीनिकट नेताहरूको जिकिर छ

    ओली पक्षको तयारी

    प्रधानमन्त्री ओलीले प्रचण्डलाई बुँदाबुँदामा जवाफ दिइसकेकाले त्यसमा बहस होस् र धारणा बनोस् नै भन्ने चाहेका छन्। तल्ला कमिटीसम्म जाँदा उनले फरक पर्ने देखेका छैनन्। तर, यो मतमा त्यहीँभित्रै पनि एकता देखिँदैन। मत विभाजनको अवस्था छ। संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल यो तर्कको विपक्षमा छन्। उनीहरू ओली–प्रचण्डको मुखको तीतो दराजमा थन्क्याएर नयाँ (साझा) प्रतिवेदन तयार पार्नुपर्ने बताउँछन्। “प्रधानमन्त्री र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन दुवै पार्टी कार्यालयको लाइब्रेरीमा थन्क्याएर साझा दस्तावेज तयार पार्नुपर्छ। त्यसआधारमा अगाडि बढ्नुपर्छ,” नेम्वाङको भनाइ छ।

    प्रचण्ड–खनाल–नेपाल समूहको तयारी

    यता, बहुमत पक्षधर भने सचिवालय बैठकमा प्रस्तुत प्रतिवेदन जस्ताको तस्तै तलका–मातहतका कमिटीमा लैजानुपर्ने बताउँछन्। सचिवालय बैठकमा छलफल गरेर मात्रै नपुग्ने, केन्द्रीय कमिटीसम्म लैजानुपर्ने उनीहरूको मत छ।

    “सचिवालय बैठकमा जेजस्ता प्रस्ताव, प्रत्युत्तर आएका छन्, ती सबै पार्टीका सम्पत्ति हुन्। त्यसलाई तहगत कमिटीहरूमा छलफल गर्नुपर्छ, त्यसको निष्कर्ष नै पार्टी निर्णय हुनुपर्छ,” एक सचिवालयका नेता भन्छन्।

    आजको बैठकमा प्रचण्डले आफूमाथि केपी शर्मा ओलीले लगाएका अभियोगहरुको थप जवाफ दिने गरी तयारी गरेका छन्। नेकपाको बहुमत समूह दुवै प्रस्ताव र पत्रहरुलाई पार्टीको केन्द्रीय समितिमै लगेर छिनोफानो गर्ने तयारीमा छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ