बिहीबार , मंसिर ६ गते २०८१

आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास हुँदै

आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास हुँदै

अखबार दैनिक
सोमबार, मंसिर १५ २०७७
  • आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास हुँदै

    मंसिर १५,

    images

    सरकारले आज (सोमबार) देशका ३९६ पालिकामा अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ ।

    पालिकासम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । सरकारले एकैचोटी ३९६ पालिकामा अस्पताल शिलान्यास हुनुलाई स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुवात भएको दावी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ ।

    सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नेछन् । यस्तै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामका सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गर्नेछन् । यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नेछन् । सरकारले यसै आर्थिक वर्षमा सात वटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार सात वटै प्रदेशमा ५० शैंयाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताए । सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्‍याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास गर्नेछन् । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

    प्रदेश–१ मा ३२ पालिकामा, प्रदेश–२ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैंयाको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैंयाको अस्पतालका लागि ७० लाख, १० शैंयाको लागि ८५ लाख र १५ शैंयाको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम हुन गइरहेको बताएका छन् । ‘यसलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति नै भन्दा हुन्छ । उपचारात्मक सेवामा यति ठूलो काम अहिलेसम्म भएको छैन,’ उनले भने । सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ