आइतबार, मंसिर ६ गते २०८३

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

अखबार दैनिक
आइतबार, मंसिर ६ २०८३
  • प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

    ६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल र निजी क्षेत्रका व्यवसायीहरूसहित उनी भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन्।

    प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन्।

    यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ। प्रधानमन्त्री शाह भारतीय समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

    नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्। विमानस्थलबाट उनी सिधै होटल ताजमहल जानेछन्।

    भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। पहिलो दिन अन्य औपचारिक भेटघाट तथा कार्यक्रम भने तय गरिएको छैन।

    मोदीसँग द्विपक्षीय वार्ता र महत्वपूर्ण सम्झौताको तयारी

    भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाट हुनेछ। बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर उनले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

    त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्ताअघि दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ।

    भारतीय विदेश मन्त्रालयका अनुसार मध्याह्न १२ बजेर २५ मिनेटमा दुई प्रधानमन्त्रीबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।

    वार्ताका क्रममा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ।

    त्यसैगरी, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ।

    शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी गरिएको छ।

    प्रधानमन्त्री शाहले मंसिर ७ गते अपराह्न ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति निवासमा हुने भेटपछि उनी अपराह्न ४ बजेर ५० मिनेटमा नयाँदिल्लीबाट स्वदेश फर्किने तालिका छ।

    नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राष्ट्रहित र द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा केन्द्रित रहेको जनाएको छ। भ्रमणबाट नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्नुका साथै व्यापार, ऊर्जा, पूर्वाधार र आर्थिक सहकार्यका क्षेत्रमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

    PRO_KTM_RSS_6_7R9A9481.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ