काठमाडौं, १७ कात्तिक । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका थिए । प्रारम्भिक जानकारीअनुसार दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएका छन् । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस