सोमबार, मंसिर १० गते २०८१

चितुवालाई ‘क्यामरा ट्र्याप’

चितुवालाई ‘क्यामरा ट्र्याप’

अखबार दैनिक
बिहीबार , मंसिर ४ २०७७
  • चितुवालाई ‘क्यामरा ट्र्याप’

    चितुवा आतंकबाट आजित भएर समात्ने अभियान चलाइएको तनहुँमा अब भने संख्या गणना गरिने भएको छ । दुई वर्षको अवधिमा जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट १० बालबालिका मारिएपछि नियन्त्रणको अभियान थालिएको थियो । ठाउँठाउँमा पासो थाप्दा ५ वटा भाले र ४ वटा पोथी चितुवालाई जीवितै नियन्त्रणमा लिन वनकर्मी सफल भए ।

    images

    तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा चितुवाको संख्या गणना गर्नका लागि क्यामरा जडान गर्दै वन कर्मचारी । तस्बिर : सम्झना/कान्तिपुर

    यसबीचमा ११ वटा मरेको अवस्थामा फेला परेका थिए । लगातार चितुवा भेटिएका चितुवा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पठाउने गरिएपनि संख्या नघटेको देखिएपछि वास्तविक संख्या गणना गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

     
     

    २२ सामुदायिक वनको ४ हजार २ सय हेक्टर क्षेत्रफलभित्र रहेका चितुवा र त्यसको आहारा प्रजातिका जनावर गणना गर्ने तयारी गरिएको हो । यसका लागि तनहुँबाट कास्की सरुवा भएका डिभिजन वन अधिकृत केदार बरालले नेतृत्व गरेका छन् । ‘तनहुँको ठूलो भूभागमा वन छ । बस्तीहरू वनकै छेउछाउमा छन् । जति प्रयास गर्दा पनि चितुवाको आतंक किन नघटेको हो भन्ने यकिन गर्न गणना गर्नैपर्ने देखियो,’ अधिकृत बरालले भने, ‘गणना गर्न हामी ठाउँ ठाउँमा गरेर ७२ वटा ट्र्यापिङ क्यामरा जडान गरेका छौं ।’ अगाडिबाट हिँडेका जनावरको पदचापलाई सेन्सरले ट्र्याक गरेपछि ट्र्यापिङ क्यामरा फोटो खिच्छ । यस्ता क्यामरा बाघ गणनामा पनि प्रयोग गर्ने गरिएको छ । त्यसमा रेकर्ड भएका फोटा हेरेर जनावरका प्रकार, संख्या र अवस्था अध्ययन सजिलो हुने उनले बताए ।

    यस क्रममा जडान गरिएका क्यामराले काम गर्न थालिसकेको छ । ‘हामीले चितुवाको संख्या मात्रै होइन, अब उनीहरूको आहाराको अवस्था पनि अध्ययन गर्नैपर्ने अवस्था छ,’ बराल भन्छन्, ‘वनमा आहारा सजिलै पाउने जनावर बस्तीमा घुम्न पुग्दैन । आहारा के छन्, कति छन् वा छैनन् भन्ने अध्ययन जरुरी भयो ।’ उक्त अध्ययनपछि मात्रै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकिने उनले बताए । ‘एक किलोमिटरका बीचमा ३६ वटा ग्रिडहरू बनाएका छौं । प्रत्येक ग्रिडमा २/२ क्यामरा छ,’ उनले भने, ‘क्यामरा राखिसकियो । सम्भावित केही ठाउँका क्यामराले खिचेका फोटा हामी हेर्न थालिसक्यौं ।’ एक ठाउँमा जडान गरेको क्यामरा १५ दिन दिन रहने र त्यसमा रेकर्ड भएका फोटो अध्ययनमा चितुवा र आहारा प्रजातिका जनावरको अवस्था अध्ययनमा सहयोगी हुने उनले बताए ।

     

     

    अध्ययनबाट चितुवाको संख्या धेरै देखियो भने वनको क्षमताअनुसारको संख्यामा मात्रै राखेर धेरैलाई समात्दै स्थानान्तरण गरिने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए छ । ‘साथै आहारा प्रजातिको पनि अध्ययन गरेर चितुवाको बासस्थान तथा आहार व्यवस्थापनका कार्यक्रम अगाडि बढाउन सकिन्छ,’ उनले भने, ‘चितुवाले बस्ने र सिकारका लागि डुल्ने निश्चित क्षेत्र हुन्छ । धेरै भएर आहारा पाएनन् भने जहाँसुकै पुग्न सक्छन् । किन बस्तीमा आइपुग्छन् भन्ने पत्ता लगाएपछि मात्रै रोकथामको प्रभावकारी उपाय छनोट गर्न सकिन्छ ।’ अध्ययनको अवधिमा चितुवाको दिसा संकलन गरी त्यसले खाएको आहारमा कति प्रतिशत वन्यजन्तु र कति प्रतिशत अन्य जनावर रहेको पनि अध्ययन गरिनेछ साथै चितुवाको डीएनए परीक्षण गरी पहिले आक्रमण गर्ने चितुवा र अहिले भएका चितुवाको नातासम्बन्ध पनि पहिचान गर्ने तयारी रहेको कफ्लेले बताए ।

    पछिल्लो २ वर्षमा चितुवाको आक्रमणबाट भानुमा मात्रै ६, शुक्लगण्डकी नगरमा २, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा एक/एक गरी १० बालबालिकाको ज्यान गएको छ । ५ वर्षमा १ सय ६७ घरपालुवा जनावर चितुवाले आक्रमण गरेको डिभिजन वनले जनाएको छ । क्यामरा जडानका लागि बरालको नेतृत्वमा आएका प्राविधिकलाई जिल्ला डिभिजन वनका कर्मचारीले पनि समवन्य गरेका छन् । सामुदायिक वन उपभोक्ता समूहहरूले पनि सहयोग गरेका छन् । चितुवाको आक्रमणबाट त्रसित यस क्षेत्रमा क्यामरा जडानपछिको अध्ययनले पछिल्ला दिनमा मानव–वन्यजन्तु द्वन्द्व कम हुनेमा भानु–१ भीमथुम्की सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम थापाले विश्वास व्यक्त गरे । ‘आजसम्म चितुवाको संख्या र आहारा व्यवस्थापनमा समस्या थियो । अब यो समस्या हट्नेमा आशावादी छौं,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार