सोमबार, कात्तिक ९ गते २०८३

अमेरिकी डलरको सिक्कामा ट्रम्पको अनुहार, कानुनी छिद्र प्रयोग गरेर आफ्नै प्रचार

अमेरिकी डलरको सिक्कामा ट्रम्पको अनुहार, कानुनी छिद्र प्रयोग गरेर आफ्नै प्रचार

अखबार दैनिक
मंगलबार, भदौ २३ २०८३
  • अमेरिकी डलरको सिक्कामा ट्रम्पको अनुहार, कानुनी छिद्र प्रयोग गरेर आफ्नै प्रचार

    २३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको नयाँ सिक्का सार्वजनिक गर्दै अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले बिक्री तथा वितरण सुरु गरेको छ। अमेरिकाको २५०औँ स्थापना दिवसको अवसर पारेर जारी गरिएको यो सिक्का जीवित राष्ट्रपतिको तस्बिर अमेरिकी मुद्रामा राखिएको दुर्लभ घटनाका रूपमा चर्चामा आएको छ।

    सिक्काको अगाडिको भागमा औपचारिक पोसाकमा ट्रम्पको तस्बिर राखिएको छ। त्यसमाथि ‘लिबर्टी’ र तल ‘१७७६–२०२६’ लेखिएको छ भने बीचमा ‘इन गड वी ट्रस्ट’ अंकित छ।

    सिक्काको पछाडिको भागमा अमेरिकी राष्ट्रपतीय छाप तथा राष्ट्रिय पक्षी बाल्ड इगलको चित्र राखिएको छ। इगलको छातीमा ‘२५०’ अंकित छ भने ‘ई प्लुरिबस युनम’, ‘युनाइटेड स्टेट्स अफ अमेरिका’ र ‘वान डलर’ लेखिएको छ।

    सुनौलो देखिने भए पनि सिक्कामा वास्तविक सुन प्रयोग गरिएको छैन। युएस मिन्टका अनुसार यसमा ८८.५ प्रतिशत तामा, ६ प्रतिशत जस्ता, ३.५ प्रतिशत म्याङ्गनिज र २ प्रतिशत निकेल प्रयोग गरिएको छ।

    कानुनी व्यवस्थामाथि प्रश्न

    trump-face-sikka-1024x500.jpg

    जीवित व्यक्तिको तस्बिर अमेरिकी मुद्रामा राख्ने विषय लामो समयदेखि कानुनी र राजनीतिक रूपमा संवेदनशील मानिन्छ। अमेरिकी इतिहासमा सन् १८६६ देखि जीवित व्यक्तिको तस्बिर मुद्रामा राख्ने अभ्यासमाथि कडा प्रतिबन्ध रहँदै आएको छ।

    पूर्वराष्ट्रपतिका हकमा समेत मृत्यु भएको निश्चित अवधि नपुगेसम्म सिक्कामा तस्बिर राख्न नपाइने व्यवस्था गरिएको थियो।

    तर ट्रम्प प्रशासनले सन् २०२० मा पारित ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ को प्रावधानलाई आधार बनाएर नयाँ सिक्का जारी गरेको बताइएको छ।

    उक्त कानुनले अमेरिकाको २५०औँ वार्षिकोत्सवका अवसरमा विशेष एक डलरको सिक्का जारी गर्न अनुमति दिएको थियो। कानुनमा सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न निषेध गरिए पनि अगाडिको भागका विषयमा स्पष्ट प्रतिबन्ध नरहेको तर्क प्रशासनले गरेको छ।

    यही प्रावधानलाई कानुनी ‘छिद्र’ का रूपमा प्रयोग गर्दै ट्रम्पको तस्बिर सिक्कामा राखिएको आलोचकहरूको आरोप छ।

    ट्रम्पको तस्बिर भएको सिक्काको माग उच्च

    युएस मिन्टले यो सिक्का मुख्यतः सङ्कलकहरूलाई लक्षित गरेर बजारमा ल्याएको जनाएको छ। २५ वटा सिक्काको रोललाई ६१ डलर र १०० वटा सिक्काको ब्यागलाई १५४.५० डलरमा बिक्री गरिएको छ।

    trump-face-sikka3.jpg

    यसको अंकित मूल्य भने एक डलर मात्र हो। वासिङ्टन डीसीस्थित युएस मिन्टका बिक्री केन्द्रमा भेन्डिङ मेसिनमार्फत प्रतिसिक्का ५ डलरसम्ममा बिक्री गरिएको बताइएको छ।

    अनलाइन बिक्री सुरु भएको केही घण्टामै अत्यधिक माग देखिएपछि युएस मिन्टको वेबसाइटमा मौज्दात सकिएको सन्देश देखिएको थियो। खरिदकर्ताहरूलाई लामो समयसम्म भर्चुअल प्रतीक्षा कक्षमा राखिएको थियो।

    जुलाई ४ का दिन विशेष रूपमा उत्पादन गरिएका २ लाख ५० हजार सिक्कामा ‘जुलाई फोर्थ’ अंकित विशेष चिह्नसमेत राखिएको छ।

    ‘मलाई सम्मानित महसुस भयो’– ट्रम्प

    सिक्कामा आफ्नै तस्बिर राखिएको विषयमा ट्रम्पले भने आफू सम्मानित भएको प्रतिक्रिया दिएका छन्।

    फक्स बिजनेससँग कुरा गर्दै उनले यो निकै असामान्य भए पनि सिक्का पाउनु आफूका लागि सम्मानको विषय भएको बताएका छन्।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि सिक्काको बचाउ गरेका छन्। उनका अनुसार ट्रम्पलाई समावेश गरिएको सिक्काले अमेरिकी मूल्य–मान्यता र स्वतन्त्रताप्रतिको प्रतिबद्धताको उत्सव मनाउँछ।

    तर डेमोक्र्याटिक पार्टीका नेताहरू तथा राजनीतिक विश्लेषकहरूले भने यसको आलोचना गरेका छन्।

    सिनेटर एलिजाबेथ वारेनले अमेरिकी नागरिकहरू खाद्यान्न, आवास र स्वास्थ्य उपचारजस्ता आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका बेला राष्ट्रपतिले आफूलाई हरेक ठाउँमा स्थापित गर्न खोजेको आरोप लगाएकी छन्।

    राष्ट्रपतिको ‘व्यक्तिगत ब्रान्डिङ’ माथि बहस

    ट्रम्पको तस्बिर सिक्कामा राखिएको घटनालाई उनको व्यापक व्यक्तिगत ब्रान्डिङ अभियानकै अर्को कडीका रूपमा समेत हेरिएको छ।

    दोस्रो कार्यकालमा ट्रम्पले सार्वजनिक संस्था, ऐतिहासिक स्थल र सरकारी संरचनामा आफ्नो नाम तथा पहिचान स्थापित गर्न खोजेको भन्दै आलोचना हुँदै आएको छ।

    यसअघि केनेडी सेन्टर, युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस तथा नयाँ युद्धपोतको वर्गलगायतका विषयमा पनि उनको नाम जोड्ने प्रयास भएका थिए।

    त्यस्तै, सरकारी भवन, राहदानी, राष्ट्रिय निकुञ्जका प्रवेश पास तथा अन्य सार्वजनिक सामग्रीमा ट्रम्पको नाम वा तस्बिर प्रयोग गर्ने विषय पनि विवादमा आएको छ।

    गत मार्चमा अमेरिकी अर्थ मन्त्रालयले बहालवाला राष्ट्रपतिको हस्ताक्षर कागजी नोटमा समावेश गर्ने घोषणा गरेपछि पनि परम्परा र कानुनी सीमाबारे बहस भएको थियो।

    trump-face-sikka1.jpg

    अर्थमन्त्री बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको कागजी नोट जारी गर्ने कानुनी प्रस्ताव अघि सारेको विषयले पनि यो बहसलाई थप चर्काएको छ।

    आलोचकहरूका अनुसार सार्वजनिक संस्थान र राष्ट्रिय प्रतीकमा राष्ट्रपतिको व्यक्तिगत पहिचानलाई निरन्तर जोड्नु अमेरिकी लोकतान्त्रिक परम्परा र संस्थागत मर्यादाका दृष्टिले चिन्ताजनक विषय हो। समर्थकहरू भने यसलाई अमेरिकाको २५०औँ वार्षिकोत्सवसँग जोडिएको ऐतिहासिक स्मरणका रूपमा प्रस्तुत गरिरहेका छन्।

    यसरी ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का केवल मुद्रा वा सङ्कलनयोग्य वस्तुमा सीमित नरही अमेरिकी राजनीति, कानुन र राष्ट्रपतिको व्यक्तिगत ब्रान्डिङबीचको सम्बन्धमाथि नयाँ बहसको विषय बनेको छ।

    (एजेन्सीहरूको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ