वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ ।पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि बुधबार वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको हो ।
गहवामाई मन्दिरको व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले वीरगञ्जसहित समग्र मधेश प्रदेशमा अकाशेपानी नपरेर पानीको हाहाकार भएसँगै पर्जन्य ९वृष्टि० यज्ञ गरिएको बताउनुभयो ।
“यहाँ आकाशेपानी नपरेपछि खानेपानी र सिँचाइको चर्को समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “धार्मिक परम्पराअनुसार भगवान् इन्द्रको यज्ञ र हवन गरेपछि पानी पर्ने विश्वास रहेको छ । गहवामाई मन्दिर प्राङ्गणमा अहिले पाँच जना पुरोहितले पूजापाठ तथा यज्ञ गरेका छौँ । धार्मिक परम्परा र विधिमार्फत यज्ञ गरेकाले पनि छिट्टै आकाशेपानी पर्ने विश्वास लिएका छौँ ।”तराई मधेशमा पर्याप्त पानी नपर्दा दैनिक जनजीवनसमेत प्रभावित हुँदै आइरहेको छ । रासस