नारायणी नदी जलाधार अन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी नदीमा मङ्गलबार बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी प्रवेश गरेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभाग अन्तर्गतको रसुवा–स्याफ्रुवेसीस्थित भोटेकोशी जलमापन केन्द्रमा मङ्गलबार बिहान ३ः३० बजे बाढी पुगेको विभागले जानकारी दिएको छ । त्यसपछि बाढी त्रिशूली नदी हुँदै बिहान ५ बजे नुवाकोटको वेत्रावती केन्द्रसम्म पुगेको विभागको भनाइ छ । विभागका अनुसार बेत्रावती केन्द्रमा जलस्तर करिब २.५ मिटरले वृद्धि भएको र पछिल्लो समय केही घट्दो क्रममा रहेको देखिएको छ ।
प्रारम्भिक विश्लेषणअनुसार, बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनीघाट) आसपाससम्म पर्न सक्ने भएकाले मङ्गलबार दिउँसोसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ । बाढी पूर्वानुमान शाखाले बाढीको निरन्तर अनुगमन गरिरहेको र यसको सम्भावित कारणको प्रारम्भिक अध्ययन पनि सुरु गरिएको जानकारी दिएको छ ।
विभागले त्रिशूली नदी किनाराका स्थानीयवासी, यात्रीहरू र सरोकारवाला निकायहरूलाई सावधानी अपनाउन आग्रह गर्दै, थप जानकारी र सतर्कताका सूचनाहरू विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत उपलब्ध हुने जनाएको छ ।