आइतबार, असोज ४ गते २०८३

वर्षाको चपेटामा गोरखाको चुमनुब्री

वर्षाको चपेटामा गोरखाको चुमनुब्री

बिहीबार , जेठ २२ २०८२
  • वर्षाको चपेटामा गोरखाको चुमनुब्री

    उत्तरी गोरखास्थित चुमनुब्री गाउँपालिकाका बासिन्दा गाउँकार्यपालिकाको कार्यालय पुग्न तीन दिन हिँड्न बाध्य छन् । वर्षात्पछिको पहिरोले ठाउँठाउँमा बाटो बिग्रिँदा सदरमुकामबाट पालिकाको केन्द्र फिलिम पुग्न लामो समय लाग्ने गरेको गाउँपालिकाका पूर्वउपाध्यक्ष कुमारी गुरुङले बताउनुभयो ।

    उहाँका अनुसार हरेक वर्ष वर्खाको चार महिना पालिकामा सवारी साधनको आवगमन ठप्पै हुने गर्दछ । “बर्खाको चार महिना पैंदल हिँड्नेबाहेक अरु कुनै विकल्प छैन”, उहाँले भन्नुभयो, “फेरि हिँड्न पनि कहाँ सजिलो छ र रु, ठाउँ ठाउँमा ढुङ्गा खस्ने, पहिरो जाने समस्या छ, ज्यानै जोखिममा राखेर हिँडनुपर्छ ।” बर्खायाममा मान्छेमात्र नभएर खाद्यान्न ढुवानी गर्ने खच्चड हिँडडुल गर्न पनि चुनौतीपूर्ण रहेको उहाँ बताउनुहुन्छ ।

    यातायातको सुविधा नहुँदा पालिकावासी अति आवश्यक सेवा सुविधाबाट बञ्चित भएका गुरुङको गुनासो छ । “सबैभन्दा ठूलो समस्या मान्छे बिरामी पर्दा, घाइते हुँदा हुन्छ, सक्नेले हेली बोलाउँछन्, त्यो पनि भनेको बेलामा आइपुग्दैन, हेली आइपुग्दासम्म बिरामी नै नरहने अवस्था छ”, उहाँले भन्नुभयो ।

    वडा नं ३ फिलिमका वडाध्यक्ष रामकुमार गुरुङले हरेक वर्ष बर्खाको समयमा चुमनुब्रीका बासिन्दाले सास्ती भोग्नुपरेको बताउनुभयो । “बर्खाको चार–पाँच महिना गाडी गुड्दैनन्, त्यो समयमा स्वास्थ्य, यातायात र खाद्य समस्याले समग्र पालिकालाई पिरोल्छ”, उहाँले भन्नुभयो “सदरमुकामबाट यही पालिकाको केन्द्र फिलिमसम्म आइपुग्न तीन दिन हिँड्नुपर्ने बाध्यता छ भने माथिल्लो भेगको अवस्था झनै के होला रु” सरकारले छिटोभन्दा छिटो पालिकामा बाह्रैमास यातायात सञ्चालन हुने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

    वर्षाको समयमा उत्तरी गोरखा जोड्ने आरुघाटको सोतीदेखि नै यातायात सञ्चालन हुँदैन । त्यसका कारण उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ । चुमनुब्रीको केन्द्र फिलिमबाट सोती बजार पुग्न दुई दिन पैंदल हिँड्नुपर्छ । “यहाँबाट धार्चेको केन्द्र माछीखोला एकदिनमा पुगिन्छ, माछीखोलाबाट अर्को एक दिन हिँडेपछि बल्ल सोती आइपुग्छ”, लामो समयदेखि चुमनुब्रीमा सेवा गरेका कर्मचारी वेदप्रकाश ढकालले भन्नुभयो, “सोतीबाट बल्ल सदरमुकामका लागि गाडी पाइन्छ ।” फिलिमबाट सोतीसम्मको पैदल यात्रा पनि निकै जोखिमपूर्ण रहेको उहाँले बताउनुभयो ।

    चुमनुब्रीका उपाध्यक्ष लक्ष्मी गुरुङले वर्षामा यातायातको समस्याले समग्र पालिकालाई पिरोलेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामी विकास निर्माणका ठूला कुरा गर्छौँ, तर यहाँ बाह्रै महिना चल्ने आधारभूत स्तरको सडक पनि छैन, अलिअलि पानी पर्न थालेपछि भोटखोलावासीको जनजीवन नै प्रभावित हुने गरेको छ ।”

    नेपाली सेनाले चुमनुब्रीको पेवागाउँसम्म सडकको ट्रयाक खनेको छ । उत्तरी गोरखाको लाइफलाइन भनेर चिनिने बेनीघाट आरुघाट लार्के सडक अन्तर्गत हालसम्म चुमनुब्री–३ पेवासम्म सडक ट्रयाक खनिएको छ । सेनाले पाङसिङ भीर, न्याक फेदी, रुबिनाला र पेवाभीर गरी चार खण्डमा ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम गरिरहेको छ ।

    सडकको ट्रयाक खने पनि बीचबीचमा ब्लास्टिङको काम सञ्चालन भइरहेकाले यातायात आवतजावतमा समस्या भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । हिमाल पारीको सो गाउँपालिकामा बाह्रैमास गाडी चल्ने सडक छिटोभन्दा छिटो निर्माण गरिदिनुपर्ने सरकारसँग उहाँको माग छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ