काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत्यु घटनामा नेपालका विद्यार्थीले बिरोध गरेका छन् । स्ववियुको नेतृत्वमा काठमाडौंको पद्मकन्या कलेजका विद्यार्थीले शुक्रबार बिहान घटनाका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । कालो मास्क लगाएर प्रदर्शनमा सहभागी भएका विद्यार्थीले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
केआईआईटी कलेजको छात्रावासमा बस्दै आएकी प्रिसा साह बिहीबार राति ८ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यो घटनाको अनुसन्धान सुरु गरिएको त्यहाँको राज्य सरकारले जनाएको छ।
गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल होस्टलमै मृत फेला परेकी थिइन् । प्रकृतिले आफूमाथि दुव्र्यवहार भइरहेको विषयमा कलेजमा धेरैपटक उजुरी दिँदा पनि सुनुवाइ नभएको पाइएको थियो । प्रिसा साहको मृत्यु घटनाको विषयमा भने त्यहाँको प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।