काठमाडौं । नेपाल पनि एटमोसफेर कोर हस्पिटालिटीको संजालमा थपिएकाे छ । बनेपास्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटीले गर्ने भएको हाे ।
लस्ट होराइजन जंगल रिसोर्ट लि. को साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्त तिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो । समुद्री सतहबाट ५००० फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो शहर हो । २५ एकड जमिनमा फैलिएको यो रिसोर्टबाट मौसम सफा भएको बेलामा सगरमाथा लगायत अन्य हिमालहरु र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
बिहीबार काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर ग्रुपका प्रबन्ध निर्देशक सलिल पनिग्राहीले नेपाल दक्षिण एरियाको विलासी पर्यटकीय गन्तब्यको रुपमा अघि बढिरहेको बताए । 'ग्राहकहरु जहिल्यै नयाँ नयाँ रोमान्चित गन्तब्यहरुको खोजीमा रहन्छन्' उनले भने' 'हाम्रो सोचअनुसार अत्यन्तै राम्रो नयाँ गन्तब्य हाम्रा उच्च स्तरीय ग्राहकहरुलाई पस्कन पाउँदा ज्यादै हर्षित बनाएको छ ।'
कार्यक्रममा नेपाल, भारत, श्रीलंका र भुटानका एटमोसफेर कोरका प्रबन्ध निर्देशक सौभाग्य महोपत्राले आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट भएकाे बताए । नेपालमा लगानी गर्न पाउँदा खुसी लागेकाे उनले बताए ।
लस्ट होराइजन जंगल रिसोर्ट लि. का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोरसँग साझेदारी गर्नु स्वाभाविक भएको बताए । "उहाँहरुको आतिथ्यताको दुष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ग्राहक सेवा र लामो अनुभवले ठयाक्कै हामीले आरन्य रिसोर्ट सञ्चालन गर्ने परिकल्पना गरे अनुसारनै मिलेको छ" उनले भने, "हाम्रो रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकोले एउटा मनोमोहक गन्तब्यको रुपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ ।"
यस रिसोर्टमा मनमाेहक दृष्य हेर्न मिल्ने ठूला ठूला झ्यालसहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीट्सहरु हुनेछन् । आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने र बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि हुने प्रधानले बताए ।