काठमाडौँ। शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर-बबरमहल सडक-खण्डमा भेला भएका शिक्षक-कर्मचारीले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरूले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।
मंगलबार दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए । यसअघि उनीहरूले कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिटी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।
सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनीहरूको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।