काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने घटनामा ज्यान गुमाएका परिवारलाई भेटेर सहयोगको आश्वासन दिएका छन् ।
गत चैत १५ गते राजावादीहरुको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर सुबिन महर्जन र घरमा आगजनीमा परी पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । उनले आइतबार महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारलाई कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोग समेत गर्ने आश्वासन दिएका हुन् ।
सो घटनाप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए । उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।
‘राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ । सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,’ मेयर शाहले भने ।