आइतबार, असोज ४ गते २०८३

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

शुक्रबार, चैत २२ २०८१
  • ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

    नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा) को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।

    रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ ।

    ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उहाँले बताउनुभयो । विसं २०७४ मा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको सङ्ख्या निकै कम भएकामा अहिले झण्डै २०० देखि ३०० रहेको अनुमान गरेको सुवेदीले बताउनुभयो ।

    रेडपाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उहाँको भनाइ छ । ढोरपाटन सिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको उहाँले जानकारी दिनुभयो । पहिलेको तुलनामा अहिले रेडपाण्डा बढी मात्रामा देखिने गरेको सुवेदीको भनाइ छ ।

    “विसं २०७२ सम्म ढोरपाटनमा रेडपाण्डा छिटपुट रूपमा थिए, २०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेडपाण्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रूपमा भेटिन्छन्”, उहाँले भन्नुभयो, “अहिले करिब ३०० को हाराहारीमा रेडपाण्डा ढोरपाटनमा रहेको हाम्रो आकलन छ, जुन सङ्ख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएको भन्दा बढी हो ।”

    सिकार आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताउनुभयो । बढ्दो डढेलो, जङ्गल फडानी र जनघनत्वका कारण यसको संरक्षणमा चुनौती बढेको उहाँको भनाइ छ । रेडपाण्डा संरक्षणका लागि स्थानीय सरकार जागरूक बन्नुपर्ने भन्दै स्थानीयलाई सचेत बनाउनुपर्ने पन्थीले बताउनुभयो ।

    खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डा पाइने गर्छ । अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपाण्डा पाइन्छ । रेडपाण्डाले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । यो लजालु स्वभाव हुनेहुँदा यसलाई सामान्य पनि बाधा पुग्ने काम गर्न नहुने पन्थी बताउनुहुन्छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार