मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको आज शिलान्यास गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणि मण्डप पछाडिको गुठी जग्गामा निर्माण हुन लागेको उक्त भवनले प्रतिष्ठानका शैक्षिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । मुख्यमन्त्री सिंहले रु दुई करोड ५० मा ठेक्का आह्वान भइसकेको जानकारी दिँदै समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विनोद यादवका अनुसार प्रतिष्ठानको शैक्षिक भवनसहित कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना रहेको बताए । उनले भवन निर्माणपछि शैक्षिक गतिविधिमा सुधार आउने बताए ।
नगरप्रमुख मनोजकुमार साहले गुठीको जग्गामा कानूनी प्रक्रिया पूरा गरी भवन निर्माण हुन लागेको स्पष्ट पारे । उनले सामाजिक कार्यका लागि निर्माण भइरहेकाले भवनको दुवै छेउमा वैकल्पिक सडकको व्यवस्था मिलाइने जानकारी दिँदै सबै पक्षलाई सहयोग गर्न आग्रहसमेत गरे ।