शुक्रबार, असोज २ गते २०८३

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

अखबार दैनिक
बुधबार, चैत ६ २०८१
  • गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

    राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भन्नुभयो, “हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री भइरहेको समाचार आइरहेका छन् । सम्बन्धित निकायले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने उद्योग तथा कम्पनीमा अनुगमन गर्नुपर्छ ।”

    सांसद गङ्गाकुमारी बेल्वासेले सरकारले लामो समयदेखि आन्दोलनरत शिक्षकको माग पूरा गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले शिक्षकहरू आन्दोलनमा छन, यसअघि शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन सकिरहेको छैन, त्यो सहमति कार्यान्वयन गरी शिक्षकलाई आफ्नो काममा फर्काउन अनुरोध गर्दछु ।” शैक्षिक क्षेत्रको सुधारसँगै विद्यार्थी हकहितको आन्दोलनलाई मर्यादित ढङ्गले अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    सांसद गोपीबहादुर सार्की अछामीले सरकारी स्वामित्वमा रहेका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट कारखाना बन्द हुने अवस्थामा रहेको जनाउँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “उदयपुर सिमेन्ट कारखानाको पाँच अर्ब दायित्व सरकारले मुक्तान गर्न सकिरहेको छैन, कच्चा पदार्थ खरिद गर्न बजेट छैन, तीन सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन्, यस्ता विद्यमान समस्याको समाधान गरी उद्योग सञ्चालन गरियोस् भन्ने माग गर्दछु ।”

    सांसद जगप्रसाद शर्माले वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बेपत्ता हुनुभएकी दाङकी लिला श्रेष्ठको खोजी गर्न सरकारसँग अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “दाङको तुलसीपुर उपमहानगरपालिका–१ निवासी श्रेष्ठ रोजगारीको सिलसिलामा दुबई गएको तीन वर्ष भएको छ । विगत एक वर्षदेखि उहाँ बेपत्ता हुनुहुन्छ, उहाँ आफन्तको सम्पर्कमा पनि हुनुहुन्न, परिवारले खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लागेको छैन ।”

    सांसद शर्माले दुबईस्थित राजदूतावास, परराष्ट्र मन्त्रालय र सरोकार भएका निकायसँग आवश्यक समन्वय गरेर श्रेष्ठको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ