काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साधारण तारेखमा छोड्न माग गरिएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको तर्फबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले यस्तो माग गरेका हुन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पन्तले लामिछानेविरुद्ध मुद्दाको आधार नभएकोसमेत जिकिर गरे ।
कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको उल्लेख गर्दै उनले भने, ‘मुद्दा अगाडि बढाउने आधार छैन । नेपाल सरकारले बाँकी चार मुद्दामा छुट दिएर परिवारको जिम्मा लगाएर तारेखमा छोड्नुपर्छ ।’ लामिछाने तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । लामिछानेलाई हिरासतमुक्त गर्ने वा थुनामा राख्ने भन्ने आदेश आजै आउने प्रबल सम्भावना छ ।