काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा छाड्ने आदेश गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा भएका कारण शुक्रबार हाजिर हुने तयारी थियो । तर, उनी आइतबार मात्र काठमाडौं अदालतमा हाजिर हुने लामिछानेका एक सहयोगीले जानकारी दिए ।