काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रुपमा अघि बढाउने बताएका छन् ।
मंगलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनामाथी छलफल कार्यक्रममा बोल्दै उनले अबका योजनाअनुसार प्रकृतिमैत्री रुपमा अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘बाग्मती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तरा दिएका छौं । बाग्मती कार्ययोजना प्रकृतिमैत्री रुपमा अगाडि बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ, यहाँको वातावरण सहुाउनेगरि योजना अघि बढाउँछौं । कार्ययोजनामा छलफलमा आएका सुझावहरु समेटेर, सरोकारवालाहरुसँग छलफल गरेर अन्तिम रुप दिन्छौं ।’ उनले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्वपूर्ण सुझावहरु आएको पनि बताए ।
बागमती कार्ययोजनाले बागमती नदि प्रणालीमा रहेका १७ वटा अरु नदिको समेत अध्ययन गरि प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपशहरी क्षेत्र, शहरी क्षेत्र र तल्लो क्षेत्र गरि ५ भागमा वर्गिकरण गरेर अध्ययन गर्नेछ ।