काठमाडौं। गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारका विषयमा अनुसन्धान भइरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले भने, “शेरा दरबारसम्बन्धी गम्भीर अनुसन्धान हुन्छ, भइरहेको छ ।”
उक्त सम्पत्ति सरकारका नाममा फिर्ता ल्याइने उनले प्रतिबद्धता जनाए । “गलत ढंगले कम्पनीको नाममा गएको छ, त्यो फिर्ता हुन्छ,” उनले भने, “मेरा प्रिय नेता, पूर्वप्रम प्रचण्डजी सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ । फिर्ता ल्याउँछ ।”
यसैबीच, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक राज्यव्यवस्था समितिबाट सर्वसम्मत रूपमा पारित गरिएको छ । उपसमितिको प्रतिवेदन हुबहु स्वीकार गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । समितिबाट पारित भएसँगै अब विधेयक संसद् बैठकमा पेस गरिनेछ ।