काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सबाट कप्तान अनिल शाहले अर्धशतक बनाएका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याइरहेको जनकपुरबाट अनिलले ३४ बलमा ५० रन पूरा गरे । उनले यसक्रममा ६ चौका र दुई छक्का प्रहार गरे । जारी प्रतियोगितामा अनिल अर्धशतक बनाउने तेस्रो ब्याटर हुन् । यसअघि विराटनगर किंग्स्का मार्टिन गप्टिल र जनकपुरका लहिरु मिलान्थाले अर्धशतक बनाएका थिए ।
निलले पहिलो विकेटका निम्ति अर्का ओपनर आसिफ सेखसँग ९.४ ओभरमा ८४ रनको साझेदारी गरेका थिए । यो जारी एनपीएलमा ओपनिङ जोडीले बनाएको अहिलेसम्मकै ठूलो साझेदारी हो । त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रनको योगफल खडा गरेको थियो ।