एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन्।
पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र यो समुदाय दशकौँदेखि शुन्नी बहुसङ्ख्यक पाकिस्तानीको निशाना हुने गरेको छ।
गत हप्ता प्रहरीको सुरक्षामा यात्रा गरिरहेका शिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो।
स्थानीय प्रशासनका एक अधिकारीले नाम नबताउने शर्तमा भने,“मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना शिया समुदायका व्यक्ति रहेका छन्,”।