आइतबार, असोज ४ गते २०८३

विदेश छाडेर सुकुटी ब्यापार, मासिक दुई लाख आर्जन

विदेश छाडेर सुकुटी ब्यापार, मासिक दुई लाख आर्जन

शुक्रबार, मंसिर ७ २०८१
  • विदेश छाडेर सुकुटी ब्यापार, मासिक दुई लाख आर्जन

    बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन्। राँगाको मासुबाट बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो ।

    विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ। ६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन्। सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्टि रहेको उनले सुनाए।

    रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आएका अर्का दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरु गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा अहिले ६ देखि ७ सय किलोे सुकुटी बेच्ने गरेका छन्।

    उनका अनुसार “स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटी माग गर्नुहुन्छ, जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन”, विदेशमा रहेका नेपालीहरुमा कोसेलीको रुपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मिहेनत पर्ने भएकाले मागअनुसार पुर्‍याउन नसकिरहेको श्रेष्ठले बताए ।

    प्रतिकिलो दुई हजार रुपैयाँमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक दुई लाखसम्म आम्दानी भइरहेको उनले बताए।

    वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका अर्का शोभितमान श्रेष्ठ ९ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन्।साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा अहिले दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनले बताए। लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनले पनि सुनाए।

    विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उनको अनुभव छ। पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरु आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठले बताए। उनीहरुका कारण अहिले लक्ष्मीमार्गको नयाँ परिचय नै सुकुटी व्यवसाय बनेको छ। रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ