बिहीबार , कात्तिक १५ गते २०८१

बाढीका कारण वाग्मती करिडोरमा हिलो र धुलो

बाढीका कारण वाग्मती करिडोरमा हिलो र धुलो

बुधबार, असोज १६ २०८१
  • बाढीका कारण वाग्मती करिडोरमा हिलो र धुलो

    शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ ।

    images

    सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण वाग्मती करिडोरमा यात्रा असहज भएको यात्रीहरू बताउँछन् । वाग्मती करिडोरमा हिलो भएकाले सवारीसाधनको चाप कम त भएको छ तर, यसको असर मुख्य सडकमा परेको छ । जसले गर्दा पहिलेभन्दा अहिले सवारी जाममा पर्ने गरेका छन् ।

    वैकल्पिक यात्रा गर्ने वाग्मती करिडोर हिलाम्मे अवस्थामा भएका कारण यात्रामा असहज भएको मोटरसाइकलयात्री पवन बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “जताततै हिलो छ, पुलमुनिको खाल्डोमा लेदोसहितको पानी भरिएकाले सवारी जाम हुने गरेको छ ।”

    अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको व्यवस्थापन गर्नुपर्ने ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वाग्मती करिडोर बाढीले डुबानमा परेको छ । मन्दिर, पाटी, आर्यघाटमा बाढीले ठूलो क्षति भएको छ । यसको व्यवस्थापनमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सक्रिय हुनुपर्छ ।”

    त्यसैगरी अर्का मोटरसाइकलयात्री विनोद थापाले पनि हिलो र धुलोको कारण वाग्मती करिडोरको यात्रा असहज हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिम्मेवार निकायले व्यवस्थापनमा छिटो पहल गरे ठूलो कुरो होइन, व्यवस्थापनमा नजुटेका कारण हालसम्म करिडोरमा हिलो छ ।”

    अहिले वाग्मती करिडोर छेउछाउका बासिन्दा, बाढीले क्षति गरेको सामान व्यवस्थापनमा जुटेका छन् । बाढीका कारण घरभित्र छिरेको लेदो पन्छाउन, भिजेको कपडा सुकाउन स्थानीय लागेका छन् । सरकारको जिम्मेवार निकायसँग लेदो सफा गर्न पानी व्यवस्था गरिदिन स्थानीयको माग छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार