आइतबार, असोज ४ गते २०८३

कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन

कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन

सोमबार, असोज १४ २०८१
  • कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन

    कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका चार पालिकामा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुन लागेको हो ।

    जिल्लास्थित परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । चालु आर्थिक वर्षमा पाँच सय हेक्टर क्षेत्रफलमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

    उनले भने, ‘यस कार्यक्रममा प्राकृतिक ताल, पोखरीलाई प्राथमिकता दिइएको छ, नयाँ पोखरी १० हेक्टर क्षेत्रफलमा मात्रै बनाउने योजना छ, ४९० हेक्टर क्षेत्रफल प्राकृतिक पोखरीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिनेछ ।’

    कार्यक्रमको प्राथमिकतामा प्राकृतिक पोखरी, ताल रहेकाले बढी प्राकृतिक ताल, पोखरी भएका पालिकालाई ‘माछा जोन’का लागि छनोट गरिएको उनले जानकारी दिए । ‘कार्यक्रमको प्रक्रिया सुरु भइसकेको छ’, उनले भने, ‘माछा जोन कार्यक्रमका लागि करिब १०० किसानले आवेदन दिनुभएको छ ।’

    कार्यक्रमअन्तर्गत माछापालनका लागि नयाँ पोखरी निर्माण, पुराना प्राकृतिक ताल, पोखरी मर्मतलगायत कार्य गरिने उनको भनाइ छ । कार्यक्रममा किसानलाई माछापालनमा आवश्यक पर्ने कृषियन्त्र उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने उनले बताए ।

    एकाइ प्रमुख जोशीका अनुसार चालु आर्थिक वर्षमा ‘माछा जोन’ कार्यक्रमका लागि एक करोड नौ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रमको उद्देश्य माछाको उत्पादकत्व बढाउने रहेको जनाउँदै उहाँले माछापालक किसानलाई विभिन्न तालिमसमेत उपलब्ध गराइने बताए ।

    परियोजनाअन्तर्गत जिल्लाका विभिन्न पालिकामा ‘गहुँ सुपरजोन’ आर्थिक वर्ष २०७३/७४, ‘तेलहन जोन’ आर्थिक वर्ष २०७४/७५ र ‘धान जोन’ आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालनमा छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार