काठमाडौं । वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई फूलमालाले स्वागत गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले विश्व पर्यटन दिवसका अवसरमा वीरगञ्ज नाका भएर भित्रिने पर्यटकलाई शंकराचार्य गेटमा फूलमाला लगाएर स्वागत गरेको हो ।
शुक्रबार वीरगञ्ज नाका हुँदै जनकपुरधाम, पशुपतिनाथ लगायत धार्मिक स्थल हिँडेका भारतीय धार्मिक पर्यटकलाई दही र जुस खुवाउनुका साथै टीका र फूलमाला लगाएर स्वागत गरिएको संघ अध्यक्ष हरि पन्तले जानकारी दिए । राज्यकै ध्यान आकर्षित गराउन नेपाल भित्रिने मुख्य नाका शंकराचार्य गेटमा कार्यक्रम आयोजना गरेर पर्यटकलाई स्वागत गरिएको उनको भनाइ छ ।
कार्यक्रम सञ्चालन भइरहेको समयमा नेपाल भित्रिएका आधा दर्जन धार्मिक पर्यटकलाई गन्तव्य स्थलसम्म पुग्न भाडाको समेत व्यवस्थापन गरिएको उनले बताए । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।