बिहीबार , कात्तिक १५ गते २०८१

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने

बिहीबार , असोज १० २०८१
  • लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने

    दाङ। लुम्बिनी प्रदेश सरकारले यो वर्षको पर्यटन दिवस दाङमा मनाउने भएको छ । प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा दाङमा दिवस मनाउने भएका हुन् ।

    images

    असोज ११ गते ४५औँ विश्व पर्यटन दिवस मनाइँदैछ । दाङको घोराहीमा प्रदेशस्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवसलाई मनाउन लागिएको हो । पर्यटन दिवसका अवसरमा असोज ११ गते जिल्ला समन्वय समिति घोराहीको खुल्ला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरी मनाइने जनाइएको छ ।

    ‘पर्यटन, न्याय र शान्ति’ भन्ने मूल नाराका साथ मनाइन लागेको दिवस सफल पार्न विभिन्न नौ उपसमिति गठन गरी तयारी गरिएको मूल समितिका संयोजक उपमहानगरपालिकाका कार्यवाहक प्रमुख हुमाकुमारी डिसीले जानकारी दिइन् । त्यस दिन हुने भव्य कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।

    प्रदेशका विभिन्न जिल्लाका पहिचान झल्किने लोक सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत हुने उपप्रमुख डिसीले जानकारी दिइन् ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका १० प्रकारका जातीय लोकनृत्य तथा सङ्गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गन्दर्भ समुदायको सारङ्गी धून, थारू जातिको बड्का नाच, देउखुरीको थारू जातिको कठघोरी नाच, सखिया नाच, पाल्पाको कौडा नाच, मगरको भुम्या नाच र सरङ्गे (मयूर) नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

    उत्कृट झाँकी र नृत्यहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाकै सहभागिता रहनेछ । आगन्तुक पर्यटकलाई जिल्लाका पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था पनि गरिएको छ ।

    विभिन्न झाँकीसहितको र्‍यालीले घोराही बजार परिक्रमा गर्नेछ । कार्यक्रममा प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानको पनि उपस्थिति रहने आयोजक समितिले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार